काठमाडौं । राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम घिमिरेले विभिन्न सहकारीमा जम्मा भएको अर्बौँ रुपैयाँ बचत हिनामिना भएको भन्दै प्रश्न उठाएका छन् ।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै सहकारी रकम हिनामिनाको विषय उठाएका हुन् ।
‘विभिन्न सहकारीमा जम्मा भएको अर्बौँ बचत ठगी भएको छ । जलवायु परिवर्तनका कारण भोटेकोशीमा आएको बाढीले अर्बौँको क्षति भएको छ । त्यसको क्षतिपूर्ति आवश्यक छ । हामीले लडेर ल्याएको गणतन्त्र सङ्कटमा परेको छ,’ उनले भने ।
घिमिरेले सहकारी रकम हिनामिनाको विषय उठाउँदा कार्यक्रममा सहभागीबाट हुटिङसमेत भएको थियो ।
उनले देशको अर्थतन्त्र डामाडोल अवस्थामा रहेको र अर्कोतर्फ गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको दाबी गरे । गगन थापा, विश्वप्रकाश शर्मा र गुरुराज घिमिरेले राजतन्त्रविरुद्ध संयुक्त आन्दोलन गर्दा समेत अतिथि नपाएको अवस्थामा आन्दोलनको उभार ल्याएर गणतन्त्र स्थापना गरिएको उनले बताए ।
विशिष्ट राजनीतिक परिस्थितिमा कांग्रेसको १५औँ महाधिवेशन आयोजना भएको उल्लेख गर्दै घिमिरेले महाधिवेशनले पार्टीको आन्तरिक एकतालाई बलियो बनाउनुका साथै नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समेत थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।



