काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले पुराना दलको पुरानो नेतृत्व र विचारले मात्रै अब देशको आवश्यकता पूरा गर्न नसक्ने बताए।
आफू माओवादीमा रहँदा नै नेपालमा पुराना पार्टी रूपान्तरण भएर नयाँ नेतृत्व आउनुपर्ने वा नयाँ शक्ति उदाउनुपर्ने धारणा राखेको स्मरण गर्दै उनले अहिले ती दुवै कुरा पूरा भएको बताए।
‘१२ वर्षपछि आज म स्मरण गर्न चाहन्छु, नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आएको छ। यो देख्दा मलाई खुसी लागेको छ,’ भट्टराईले भने।
शान्ति प्रक्रियामा आएपछि एक विदेशी पत्रकारले कांग्रेस र कम्युनिस्ट वृत्तमा भावी नेतृत्वबारे प्रश्न गरेको स्मरण गर्दै उनले कांग्रेसको भावी नेतृत्व गगन थापा हुने आफूले त्यतिबेलै बताएको उल्लेख गरे।
भट्टराईले नेपालले दक्षिण कोरिया र मलेसियालगायत देशको विकासबाट पाठ सिक्नुपर्ने बताए। पुराना राजनीतिक दलहरूलाई समयअनुसार रूपान्तरण हुन आग्रह गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफ्नो कार्यकाल पूरा गरी सरकार सञ्चालन गर्न शुभकामना दिए।
उनले संघीयता, लोकतन्त्र र धर्मनिरपेक्षतालाई संविधानका मुख्य खम्बाका रूपमा व्याख्या गर्दै ती विषयमा कुनै किसिमको हस्तक्षेप नगर्न आग्रह गरे। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नसके पनि हजारौँको बलिदानबाट प्राप्त संविधानलाई समाप्त पार्ने काम गर्न नहुने उनको भनाइ थियो।
भट्टराईले शान्ति प्रक्रियाका बाँकी कामसमेत छिटो पूरा गर्न राजनीतिक दलहरूलाई आग्रह गरे।



