ताप्लेजुङ । अलैँचीको मूल्य एक सातामै प्रतिमन (४० केजी) ८ हजार रुपैयाँले बढेको छ। अघिल्लो साता प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भएको अलैँचीको मूल्य आइतबार बढेर ८८ हजार रुपैयाँ पुगेको अलैँची व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार ताप्लेजुङमा आइतबार अलैँची प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भएको हो। एक साताअघि यही अलैँची ८० हजार रुपैयाँमा खरिद–बिक्री भएको थियो।
अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित भएका छन्। जिल्लाको बेँसीदेखि लेकाली क्षेत्रसम्मका किसान अहिले बिहानदेखि बेलुकासम्म बगानमै अलैँची टिप्ने, छोडाउने र भट्टीमा सुकाउने काममा व्यस्त छन्।
ताप्लेजुङका नौ स्थानीय तहमध्ये ६० वडामा अलैँची उत्पादन हुने गरेको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा ४ हजार ५७८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। उक्त क्षेत्रबाट वार्षिक करिब २ हजार २९१ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको छ।
ताप्लेजुङ देशमै सबैभन्दा बढी अलैँची उत्पादन गर्ने जिल्ला हो। पछिल्ला वर्षमा उत्पादन र खेतीयोग्य क्षेत्रफलमा उतारचढाव देखिए पनि अलैँची जिल्लाका किसानको प्रमुख नगदेबालीका रूपमा रहेको छ। अलैँचीलाई ‘खोल्सीको कालो सुन’ समेत भन्ने गरिन्छ।
देशभर ताप्लेजुङसँगै पाँचथर, इलाम, संखुवासभा र तेह्रथुम प्रमुख अलैँची उत्पादक जिल्लाका रूपमा रहेका छन्।
व्यवसायीका अनुसार यस वर्ष अलैँचीको सुरुवाती मूल्यसमेत विगतको तुलनामा राम्रो रहेको छ। पछिल्लो समय मूल्य बढेपछि किसानलाई राहत मिलेको छ।
अलैँची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले अन्तर्राष्ट्रिय बजारको माग, आपूर्ति र गुणस्तरका आधारमा अलैँचीको मूल्य घटबढ हुने भएकाले अहिलेको मूल्य स्थिर नरहन सक्ने बताए।



