काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले कात्तिक १६ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नेछ। यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सञ्चालकको पारिश्रमिक घटाइएको विषयमा आवश्यक निर्णय गर्ने प्रस्ताव पनि सभामा रहेको छ। साथै, बाँकी कार्यकालका लागि नियुक्त गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ।
कम्पनीले यस वर्ष पनि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते एक दिन बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन्।



