काठमाडौं । उच्च ब्याजदरको ऋण र सरकारी निकायबाट उठ्न बाँकी करोडौँ रुपैयाँका कारण नेपाल वायुसेवा निगम गम्भीर वित्तीय संकटमा परेको छ।
सोमबार संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको आम्दानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै खर्च भइरहेको भन्दै तत्काल वित्तीय सुधार आवश्यक रहेको बताएका हुन्।
कालाखेतीका अनुसार राष्ट्र प्रमुखको विदेश भ्रमण, कोभिडकालीन उद्धार तथा विभिन्न देशमा गरिएको उद्धार उडानबापत सरकारबाट निगमले १३ करोड ७५ लाख रुपैयाँ पाउन बाँकी छ। यसमध्ये सन् २००५ को भ्रमणबापत ४ करोड २७ लाख, कोभिडकालमा औषधि ढुवानीबापत १ करोड ५४ लाख, पाकिस्तानको बाढी उद्धार उडानबापत १ करोड १४ लाख र इजरायल उद्धार उडानबापत ५ करोड ७८ लाख रुपैयाँ उठ्न बाँकी रहेको उनले जानकारी दिए।
पटक–पटक पत्राचार गर्दा पनि उक्त रकम भुक्तानी नभएपछि निगमको नगद प्रवाहमा समस्या देखिएको कालाखेतीले बताए।
उनका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमा क्रमशः ९.२५ प्रतिशत र १०.५ प्रतिशत ब्याज तिर्नुपरिरहेको छ। ब्याजदर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगमलाई नाफामा लैजान सहज हुने उनको दाबी छ।
कालाखेतीले निगमको मुख्य समस्या महँगो ब्याजदर, ठूलो ऋण दायित्व र विगतमा भएका सुधारसम्बन्धी अध्ययन तथा प्रतिवेदन कार्यान्वयन नहुनु रहेको बताए। निगमलाई सुधार गर्न ऋण पुनर्संरचना, ब्याजदर कटौती, सरकारी सहयोग र व्यवस्थापकीय सुधार आवश्यक रहेको उनको भनाइ छ।
निगमले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने निजी बैंकबाट प्रस्ताव पाए पनि कर्मचारी सञ्चय कोषको सर्तका कारण ती बैंकबाट ऋण लिन नसकेको कालाखेतीले जानकारी दिए। सञ्चय कोषको ऋण पूर्ण रूपमा चुक्ता गरेपछि मात्र अन्य वित्तीय संस्थामा जान सकिने सर्त रहेकाले निगम महँगो ब्याज तिर्न बाध्य भएको उनले बताए।
विगतमा गठित विभिन्न अध्ययन समितिले दिएका सुधारका सुझाव कार्यान्वयन हुन नसक्दा निगमको समस्या थप जटिल बनेको कालाखेतीले बताए। उनका अनुसार ब्याज खर्च घटाउन सके निगमलाई पुनः नाफामूलक संस्थाका रूपमा अघि बढाउन ठूलो सहयोग पुग्नेछ।



