RE
Global College

तीन सहरमा प्रभातफेरी गरेर सुरु गरियो विश्व लगानीकर्ता सप्ताह

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (SBAN)को सहकार्यमा देशका तीन प्रमुख शहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन असोज १९ गते पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममार्फत पूँजी बजार, लगानी तथा लगानीकर्ताको अधिकार र हितसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

पोखरामा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित भई प्रभातफेरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उहाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब ६०० जनाको सहभागिता रहेको थियो।

त्यस्तै, विराटनगरमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको प्रमुख आतिथ्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा करिब ३५० जनाको सहभागिता रहेको थियो। त्यसैगरी, सुर्खेतमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो, जहाँ करिब ४०० जनाको उपस्थिति रहेको थियो।

प्रभातफेरी कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कर्मचारी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता लगायत पूँजी बजारसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजना गरिएको प्रभातफेरीले पूँजी बजारप्रति सर्वसाधारणको बुझाइ अभिवृद्धि गर्नुका साथै लगानी गर्दा आवश्यक जानकारी हासिल गर्ने, जोखिम पहिचान गर्ने तथा सचेत र जिम्मेवार लगानी गर्ने संस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विश्व लगानीकर्ता सप्ताह असोज १९ गतेदेखि २५ गतेसम्म एक साताभर मनाइँदैछ। यो सप्ताहको मुख्य सन्देश Invest in your future! Protect it Today रहेको छ।सप्ताहका क्रममा पूँजी बजारसम्बन्धी साक्षरता अभिवृद्धि तथा लगानीकर्ता सचेतना बढाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।

Leave Your Comment

Related News