Global College

दानबहादुर कार्कीको रिट न्यायाधीश निरौला र पौडेलको इजलासमा

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबार सुनुवाइ हुने भएको छ । कार्कीको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

सरकारले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध कार्कीले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । बुधबारको सुनुवाइमा सर्वोच्चले सरकारको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा विचार गर्नेछ ।
सरकारले कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकमार्फत दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी डा. मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो । सरकारले गैरकानुनी रूपमा आफूलाई पदमुक्त गरेको दाबी गर्दै कार्कीले निर्णय बदर गरी आईजीपीमा पुनर्बहालीको मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि दुई पटकसम्म कार्कीको मुद्दाका सुनुवाइ भइसकेको छ । गत सोमबार न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

त्यो दिन अदालतले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीका नाममा जारी भएको म्याद प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने अधिवक्तामार्फत् बुझाउन आदेश दिएको थियो ।

यसैगरी,उक्त इजलासले निवेदनमा उठाइएको विषयको प्रकृति र संवेदनशीलतालाई ध्यानमा राख्दै रिटको शीघ्र निर्णय गर्नुपर्ने अवस्था रहेको भन्दै बुधबारका लागि पेसी तोकेको छ ।

त्यसअघि उक्त रिटको पहिलो सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

NECO

Leave Your Comment

Related News