काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन्।
सिंहदरबारमा आयोजित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले सडक तथा पूर्वाधार पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिए।
उनका अनुसार तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार भइसकेको छ। नाकासम्मको सडकसमेत सञ्चालनमा ल्याइसकिएको भए पनि चिनियाँ पक्षबाट भने अझै अनुमति प्राप्त हुन सकेको छैन।
‘तातोपानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन र बाटो सञ्चालनमा ल्याइसकिएको छ। चीन पक्षसँग दैनिकजसो नियमित संवाद भइरहे पनि उहाँहरू अझै तयार हुनुभएको छैन,’ मन्त्री लम्सालले भने, ‘विपद्का कारण देखाएर चिनियाँ सरकार नाका सञ्चालनमा केही हदसम्म अनिच्छुक देखिएको छ र ग्रिन सिग्नल दिइसकेको छैन। यद्यपि हामी प्रयासरत छौँ र चाँडै नाका खोल्न सफल हुनेछौँ।’
मन्त्री लम्सालले चीनसँगको अर्को प्रमुख व्यापारिक नाका रसुवागढी सञ्चालनमा ल्याउन पनि सरकारले आवश्यक योजना बनाइरहेको बताए। विपद्का कारण अवरुद्ध भएको नाका पुनः सञ्चालनका लागि सडक तथा अन्य पूर्वाधार पुनःस्थापनालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
यसैबीच, सरकारले नुवाकोटको विदुरलाई ‘ट्रेड सिटी’, ‘इन्डस्ट्रियल सिटी’ र ‘स्याटेलाइट सिटी’का रूपमा विकास गर्ने योजना अघि बढाएको मन्त्री लम्सालले जानकारी दिए। उक्त योजनाका लागि आवश्यक मास्टर प्लान तयार गर्ने काम अघि बढाइने उनले बताए।
उनले विपद्पछि क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना गर्नुका साथै भविष्यमा व्यापारिक गतिविधि र कनेक्टिभिटीलाई थप सहज बनाउने गरी दीर्घकालीन योजना अघि बढाइने बताए।



