काठमाडौं । आगामी मंसिर पहिलो साता काठमाडौंमा सम्पन्न हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को तयारी तीव्र बनेको छ । स्टल बुकिङ र प्रायोजकहरूसँगको सम्झौता अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएमपी) प्रदर्शनीको प्रवर्द्धकका रूपमा रहने भएको छ । यसका लागि एनएएमपी र नामियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कृषि विभागअन्तर्गतको कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।
बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजकका रूपमा रहने प्रदर्शनीमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा रहनेछन् ।
“कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि” भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनी आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २०–२२, २०२६) काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने नामियाका सचिव श्रीकृष्ण अधिकारीले बताए ।
प्रदर्शनीको मुख्य प्रायोजकमा एसकेटी नेपाल प्रालि रहने निश्चित भएको छ भने प्लेटिनम प्रायोजक कृषि यान्त्रीकरणमा सक्रिय अर्को कम्पनी जी–सेभेन एग्रिकल्चर प्रालि रहेका छन् ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघका अनुसार प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ । प्रदर्शनीमा दुई हजारभन्दा बढी कृषि यन्त्र तथा प्रविधिजन्य सामग्री प्रदर्शन गरिनेछ भने करिब २०० वटा स्टल रहनेछन् । प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।
नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रको आधुनिकीकरण र रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । कृषि क्षेत्रमा प्रयोग भइरहेका आधुनिक यन्त्र, प्रविधि तथा उपकरणबारे कृषकलाई जानकारी गराउँदै यान्त्रीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्य पनि प्रदर्शनीको रहेको आयोजकले जनाएको छ ।
वि.सं. २०७१ सालमा स्थापना भएको गैरनाफामूलक संस्था नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) र सरकारका विभिन्न निकायको सहकार्यमा हालसम्म पाँचपटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एकपटक प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी र एकपटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सम्पन्न भइसकेका छन् ।
यसअघि वि.सं. २०७० सालमा चितवनको भरतपुरमा तत्कालीन कृषि इन्जिनियरिङ निर्देशनालयको अगुवाइमा पहिलो कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरिएको थियो । सोही पृष्ठभूमिमा यस वर्ष आयोजना हुन लागेको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी विगतका संस्करणभन्दा थप बृहत्, प्रविधिमैत्री र प्रभावकारी हुने विश्वास नामियाले व्यक्त गरेको छ ।




