RE
Global College

मेस्सीको बिदाइमा रोनाल्डोको कमेन्ट: “इतिहास अमर रहनेछ”

काठमाडौं । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोली (अल्बिसेलेस्ते) बाट आफ्नो अन्तिम खेल खेलेपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा एक अत्यन्तै भावुक सन्देश पोस्ट गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको घोषणा गरेका छन्। मेस्सीको यो ऐतिहासिक पोस्टमा उनका  प्रतिस्पर्धी तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले गरेको कमेन्ट ले विश्वभरका फुटबल प्रेमीहरूको ध्यान खिचेको छ।

मेस्सी लेखेछन्

राष्ट्रिय टोलीको आकासे नीलो र सेतो जर्सीमा आफ्नो अन्तिम खेल खेलेपछि मेस्सीले इन्स्टाग्राममा “हिजो मेरो अन्तिम खेल थियो र मैले अहिल्यैदेखि यो आकासे नीलो र सेतो जर्सीको अभाव महसुस गरिसकेको छु। मलाई थाहा छ म सही निर्णय लिइरहेको छु। यो एउटा अविश्वसनीय यात्रा थियो—जसमा धेरै खुसीका क्षणहरू थिए भने केही दुःखका क्षण पनि रहे। तर म स्पष्ट छु कि मैले सारेका प्रत्येक पाइलाहरू सार्थक थिए” भन्दै भावुक सन्देश लेखेका छन्।

मेस्सीले आफ्ना भावनाहरूलाई शब्दमा व्यक्त गर्न असम्भव रहेको बताउँदै कठिन समयमा साथ दिने परिवार, सहकर्मी र समर्थकहरूलाई धन्यवाद दिएका छन्। उनले थप लेखेका छन्, “मलाई अझै धेरै कुरा भन्न बाँकी छ। म जे महसुस गरिरहेको छु, त्यो सबै शब्द वा एउटा पोस्टमा व्यक्त गर्न मेरो लागि असम्भव छ। मेरो परिवारको साथ बिना यो यात्रा असम्भव हुने थियो, जसले सधैँ मेरो पक्षमा उभिएर मलाई सहयोग गरे, विशेष गरी ती कठिन क्षणहरूमा जब मलाई यसको सबैभन्दा बढी आवश्यकता थियो।”

आफ्ना साथीहरू, राष्ट्रिय टोलीका सहकर्मीहरू र प्राविधिक टोलीलाई सम्झिँदै मेस्सीले अर्जेन्टिनाका महान् दिवंगत खेलाडी डिएगो म्याराडोनाको स्मरण गर्दै “मेरा साथीहरू, मेरा सबै सहकर्मीहरू र उहाँहरूका प्राविधिक टोली पनि उत्तिकै महत्त्वपूर्ण थिए। म डिएगोलाई बिर्सन चाहन्नँ, जसले हाम्रो देशलाई हुनुपर्ने उच्च स्थानमा पुर्‍याउनुभयो। मैले सधैँ भन्ने गरेझैँ, मलाई थाहा छ उहाँले यहाँ हामीसँगै रहेर र स्वर्गबाट पनि हामीले चालेका प्रत्येक पाइलामा सहयोग गर्नुभयो” भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

मेस्सीले आफू सम्बद्ध रहेका क्लबहरू र ईश्वरप्रति आभार व्यक्त गर्दै “मैले खेलेका सबै क्लबहरूलाई पनि धन्यवाद, जसले सधैँ मेरो भावनाको कदर गर्नुभयो र मलाई राष्ट्रिय टोलीको जर्सी लगाउने अवसर दिनुभयो। अनि पक्कै पनि, ईश्वरलाई धन्यवाद: उहाँको मार्गदर्शन र इच्छा बिना हामी यहाँसम्म पुग्ने सपना पनि देख्न सक्ने थिएनौँ” भनेका छन्।

रोनाल्डो कमेन्ट

मेस्सीको यो भावुक बिदाइ पोस्ट सार्वजनिक भएलगत्तै उनका सबैभन्दा ठूला प्रतिस्पर्धी मानिने पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले कमेन्ट गर्दै मेस्सीको योगदानको उच्च प्रशंसा गरेका छन्। रोनाल्डोले मेस्सीलाई सम्बोधन गर्दै “आफ्नो देशको रक्षा गर्दै बिताएका यी धेरै वर्षहरू र तिमीले बनाएको यो इतिहास सधैँका लागि अमर रहनेछ। तिमीले अर्जेन्टिनाका लागि हासिल गरेका सबै सफलताहरूप्रति मेरो पूर्ण सम्मान छ। हार्दिक अङ्कमाल ” भन्दै प्रतिक्रिया दिएका छन्।

NECO

Leave Your Comment

Related News