RE
Global College

त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधारका लागि जापानले २ अर्ब ७३ करोड अनुदान दिने

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक नियन्त्रण सुविधा सुधार गर्ने परियोजनाका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा ‘द प्रोजेक्ट फर द इम्प्रुभमेन्ट अफ एयर ट्राफिक कन्ट्रोल फ्यासिलिटिज एट त्रिभुवन इन्टरनेसनल एयरपोर्ट’ परियोजनाका लागि जापानले २ अर्ब ८५ करोड ३० लाख जापानी येन अर्थात् करिब २ अर्ब ७३ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने सम्झौता भएको हो।

अनुदानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावर तथा प्रशासनिक र सुविधासम्बन्धी भवन निर्माण गरिनेछ। यसबाट विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सेवालाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

परियोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ।

अनुदान सहायतासम्बन्धी ‘एक्सचेन्ज अफ नोट्स’ मा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन्। त्यस्तै, अनुदान सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल र जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मचुजाकीले हस्ताक्षर गरेका छन्।

समारोहको सुरुवात सहसचिव अमृत लम्सालको मन्तव्यबाट भएको थियो। सम्झौतामा हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मचुजाकी, जापानी राजदूत मायदा तोरु र अर्थ सचिव डा. घनश्याम उपाध्यायले सम्बोधन गर्दै नेपाल–जापान द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

नेपाल–जापान सहकार्यअन्तर्गत अघि बढाइएको उक्त परियोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सुधार ल्याउनुका साथै समग्र हवाई सुरक्षालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

समारोहमा अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, जापानी दूतावास र जाइका नेपालका अधिकारीहरूको उपस्थिति रहेको थियो।

NECO

Leave Your Comment

Related News