RE
Global College

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो।

भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको भोटेकोशीमा गएको बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिन्। उनले बाढीबाट प्रभावित समुदायको अवस्था र पुनःस्थापनाका प्रयासबारे चासो व्यक्त गर्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री बादीले नेपाल र संयुक्त राज्य अमेरिकाबिच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास, विकास सहकार्य र जनस्तरीय सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरिन्।

सन् २०२६ अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको जानकारी गराउँदै मन्त्री बादीले प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरिन्।

भेटमा मन्त्री बादीले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी काम गरिरहेको जानकारी दिए। मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको उनले बताए।

भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमासमेत विस्तृत छलफल भएको थियो।

NECO

Leave Your Comment

Related News