RE
Global College

नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको ४२औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांशसहितको प्रस्ताव पारित गरेको हो।

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको सिफारिस तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि प्रस्ताव गरिएको लाभांश पारित गरेको हो। सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई आठ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ।

पाँच प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप ६९ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

बैंकको कुल वासलात पनि १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

साधारणसभामा अध्यक्ष चौधरीले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण र विस्तार गर्दै आएको बताए। उनले बैंकले शेयरधनी, ग्राहक, कर्मचारी, नियामक निकायलगायत सबै सरोकारवालाको हित र चासोलाई ध्यानमा राखेर काम गर्दै आएको बताए।

साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।

नबिल बैंकका अनुसार बैंक स्थापना हुँदाको चुक्ता पुँजीको तुलनामा हाल चुक्ता पुँजी ९६० गुणाले वृद्धि भएको छ। बैंकले हाल देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा दिइरहेको छ। बैंकका ग्राहक संख्या २८ लाखभन्दा बढी रहेको जनाएको छ।

बैंकले पछिल्लो समय डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै एनबैंक सञ्चालनमा ल्याएको छ। बैंकले सन् २०३० सम्म ‘एआई रेडी’ बैंक बन्ने लक्ष्यसमेत अघि सारेको छ। साथै बैंकले आफ्नो भिजन तथा मिसनलाई परिमार्जन गर्दै ट्रस्ट, ट्रान्सपरेन्सी, ट्यालेन्ट, टेक्नोलोजी र ट्रान्सफर्मेसनलाई आधार बनाएर अघि बढ्ने जनाएको छ।

NECO

Leave Your Comment

Related News