काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीबाट क्षतिग्रस्त राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको छ। बाढीका कारण विद्युतगृहमा पानी पसेर महत्वपूर्ण संरचना तथा उपकरणमा क्षति पुगेपछि बन्द भएको आयोजनाको एउटा युनिट बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो।
असोज ११ गते आएको बाढीले आयोजनाको विद्युतगृहबाट विद्युत उत्पादनपछि पानी कालीगण्डकी नदीमा पठाउने टेलरेस गेटमा क्षति पुर्याएको थियो। टेलरेस गेटमा क्षति भएपछि विद्युतगृहभित्र पानी पसेर डुबान भएको थियो। त्यसका कारण भर्खरै निर्माण सम्पन्न भई परीक्षणका रूपमा विद्युत उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो।
विद्युतगृहमा जम्मा भएको पानी हटाएर बाढीबाट क्षतिग्रस्त संरचना र उपकरणको मर्मतसम्भार गरेपछि २० मेगावाट क्षमताको एउटा युनिटबाट विद्युत उत्पादन सुरु गरिएको रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक गणेश केसीले बताए।
‘बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी ११ दिनमै एउटा युनिटबाट विद्युत उत्पादन सुरु गरेका छौं। अर्को युनिट पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ केसीले भने।
राहुघाट जलविद्युत आयोजनामा २०–२० मेगावाट क्षमताका दुईवटा युनिट छन्। पूर्ण क्षमतामा सञ्चालन हुँदा आयोजनाबाट ४० मेगावाट विद्युत उत्पादन हुनेछ।
आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ।




