काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलियाकी गभर्नर-जनरल साम मस्टिन (AC) सँग शिष्टाचार भेटवार्ता गरेका छन्। अस्ट्रेलियाको क्यानबेरास्थित गभर्नमेन्ट हाउसमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, जलवायु परिवर्तन र शैक्षिक सहकार्यबारे महत्वपूर्ण छलफल भएको छ।
भेटका क्रममा गभर्नर-जनरल मस्टिनले भोटेकोशी उपत्यकाको विनाशकारी विपद्का साथै हालैको बाढी र पहिरोका कारण नेपालले व्यहोरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति अस्ट्रेलियाको पूर्ण सहानुभूति र दृढ ऐक्यबद्धता प्रकट गरेकी छन्।
छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले जलवायु अनुकूलनका विषयमा पर्वतीय देशहरू र प्रशान्त महासागरीय टापु राष्ट्रहरूबीचको साझेदारिताको महत्वलाई जोड दिएका थिए। साथै, आगामी कोप-३१ (COP31) सम्मेलनलाई दृष्टिगत गर्दै नेपालका जलवायु प्राथमिकताहरूमा अस्ट्रेलियाको सहयोगको अपेक्षा व्यक्त गरे।
यसैगरी, अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको कल्याण तथा शैक्षिक साझेदारीको विस्तारका विषयमा पनि दुई पक्षबीच सकारात्मक कुराकानी भएको छ। भेटमा गभर्नर-जनरल मस्टिनले अस्ट्रेलियाली समाजको विकासमा त्यहाँ रहेका नेपाली समुदाय (नेपाली डायास्पोरा) ले पुर्याएको योगदानको उच्च प्रशंसा गरेकी थिइन्।
परराष्ट्रमन्त्री खनालले यो भेटवार्ताबाट नेपाल र अस्ट्रेलियाबीचको बहुआयामिक सम्बन्ध र दीर्घकालीन मित्रता अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।




