RE
Global College

भोलिबाट उपत्यकाका ६ स्थानबाट एलपी ग्यासको विशेष बिक्री र सिलिन्डर साटफेर हुने

काठमाडौं । चाडपर्वका बेला उपभोक्तालाई एलपी ग्यास सहज रूपमा उपलब्ध गराउन काठमाडौं उपत्यकाका ६ स्थानबाट विशेष बिक्री वितरण तथा ग्यास सिलिन्डर साटफेरको व्यवस्था गरिने भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिनेछ। ती केन्द्रहरू बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म सञ्चालन हुनेछन्।

संघले तोकेका बिक्री केन्द्रमध्ये काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास उपलब्ध हुनेछन्।

त्यसैगरी, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको बिक्री तथा सिलिन्डर साटफेरको व्यवस्था मिलाइएको संघले जनाएको छ।

भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ।

नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था लागू गर्न लागिएको हो।

संघका अनुसार तोकिएका केन्द्रमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने संघका सदस्य उद्योगका ग्यास सिलिन्डर मात्रै साटफेर गर्न पाइनेछ। तोकिएका विशेष बिक्री केन्द्रबाहेक अन्य स्थानमा भने यस्तो साटफेरको व्यवस्था लागू हुने छैन।

यस व्यवस्थाबाट चाडपर्वका बेला ग्यासको खोजीमा भौँतारिनुपर्ने र फरक ब्रान्डका सिलिन्डर प्रयोग गर्दा हुने समस्या कम हुने अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News