RE
Global College

स्टारलिङ्क भारत प्रवेशमा रोके पछि मस्कले भने : ‘भारतका प्रधानमन्त्री मुकेश अम्बानी’

काठमाडौं । एलन मस्कले भारतमा स्टारलिङ्कको प्रवेशलाई लिएर जारी सार्वजनिक विवादलाई शुक्रबार थप चर्काएका छन्।
उनले उद्योगपति मुकेश अम्बानीलाई व्यङ्ग्य गर्दै ‘प्रधानमन्त्री अम्बानी’ भनेका छन्। साथै, उनले अम्बानीमाथि बजारमा एकाधिकार कायम राख्न खोजेको आरोप लगाउँदै भारतमा स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धा गर्न स्टारलिङ्कलाई अनुमति दिने विषयमा विचार गर्न आग्रह गरेका छन्।

एक्समा मस्कको पछिल्लो टिप्पणी भारतका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाको भनाइ आएको केही घण्टापछि सार्वजनिक भएको हो। सिन्धियाले भारतमा कुनै पनि क्षेत्रमा एकाधिकारलाई अनुमति नदिइने बताएका थिए।

उनले कुनै एउटा ‘विशेष’ कम्पनीबारे धेरै चर्चा भइरहे पनि तीनवटा कम्पनीले स्याटेलाइट सञ्चार सेवाका लागि अनुमति पाइसकेको बताएका थिए। ती कम्पनीले सुरक्षा आवश्यकताहरू र निर्धारित मापदण्ड पूरा गरेपछि आफ्नो सेवा सञ्चालन गर्न सक्ने उनको भनाइ थियो।
मस्कको पछिल्लो अभिव्यक्तिले भारतमा स्टारलिङ्कको स्याटेलाइट सञ्चार सेवा सञ्चालन गर्ने विषयलाई लिएर जारी विवाद थप चर्किएको छ। यसअघि अमेरिकी अर्बपति व्यवसायी मस्कले भारतको बजारमा आफ्नो प्रभुत्व कायम राख्न शक्तिशाली व्यवसायीहरूले आफ्नो सेवा सुरु गर्ने प्रयास रोक्न खोजेको आरोप लगाएका थिए।

बिहीबार एक्समा पोस्ट गर्दै मस्कले ‘के अम्बानी नै भारतका वास्तविक मालिक हुन्?’ भन्ने प्रश्न गरेका थिए। शुक्रबार साँझ अर्को पोस्टमार्फत उनले विवादलाई थप चर्काए। उनले लेखेका छन्, ‘प्रिय प्रधानमन्त्री अम्बानी, भारतका वास्तविक मालिक तपाईं नै हुनुहुन्छ भन्ने कुरा बुझ्न नसकेकोमा कृपया मेरो विनम्र क्षमायाचना स्वीकार गर्नुहोस्।  स्पष्ट छ, तपाईं एकाधिकारमार्फत भारतका आम नागरिकको शोषण जारी राख्न चाहनुहुन्छ। तर पनि, के तपाईं स्टारलिङ्कलाई भारतमा प्रतिस्पर्धा गर्ने अवसर दिने विषयमा विचार गर्न सक्नुहुन्छ?  भारतका धेरै क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध छैन, जुन विश्वका अन्य देशहरूमा पनि देखिने समस्या हो। यसका कारण बालबालिका शिक्षाका अवसरबाट वञ्चित भइरहेका छन् भने साना व्यवसायीहरूले आफ्ना उत्पादन विश्व बजारमा बेच्ने अवसर पाइरहेका छैनन्। स्टारलिङ्कले यी मानिसहरूको जीवनमा सुधार ल्याउन सक्छ।’

मस्कले आफ्नो पोस्टको अन्त्यमा धन्यवाद दिएका छन्। मुकेश अम्बानी र उनको रिलायन्स समूहले मस्कका टिप्पणीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

NECO

Leave Your Comment

Related News