RE
Global College

गोरखाको बुढीगण्डकीमा पहिरोपछि भीषण बाढी: ५ जना बेपत्ता, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति

काठमाडौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुम्लिङको बीचमा गएको ठूलो पहिरोले बुढीगण्डकी नदी थुनिएर लेदोसहित आएको भीषण बाढीका कारण ठूलो भौतिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रेस नोटअनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सर्वसाधारण हालसम्म सम्पर्कविहीन रहेका छन्।

बाढीका कारण गोरखा र धादिङ जोड्ने विभिन्न सडक तथा झोलुङ्गे पुलहरूमा व्यापक क्षति पुगेको छ। चुमनुब्री–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे–५ स्थित माछिखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल तथा आरुघाट–२ र ३ जोड्ने सोतीको फलामको पक्की पुल बाढीले बगाएको छ। यसैगरी आरुघाट–९ नयाँपुल स्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको तीन भागमध्ये गोरखातर्फको एक भाग बगेको छ। भौतिक क्षति संरचनातर्फ धार्चे–३ सल्लेरीमा निर्माणाधीन टाइम्स ऊर्जा प्रा.लि.का घरहरू, १ वटा घर पूर्ण रूपमा बगाएको छ भने माछिखोलाको तल्लो बस्तीका २०/२२ घरहरू जोखिममा परेका छन्। साथै, बुढीगण्डकी (३४१ मेगावाट) आयोजनाको मुख्य क्याम्प क्षेत्र, २ वटा टेलिफोन टावर र ५० वटा बिजुलीका पोलहरूमा समेत बाढीले क्षति पुर्‍याएको छ।

विपद्लगत्तै गृह मन्त्रालय र प्राधिकरणको समन्वयमा नेपाली सेनाका ३ वटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बलका १७७ जना गरी कुल ४३७ जना सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन्। नेपाली सेनाका ४ वटा हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको टोली परिचालन गरिएको छ भने सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागको टोली बेलिब्रिज निर्माण तथा सडक सञ्चालनको सम्भाव्यता अध्ययनमा खटिएको छ। गोरखा, लमजुङ र तनहुँका अस्पतालहरूलाई आपतकालीन चिकित्सकीय टोलीसहित तयारी अवस्थामा राखिएको छ भने तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा रहन र जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न प्राधिकरणले अनुरोध गरेको छ।

NECO

Leave Your Comment

Related News