काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा पहिरो खसेर नदी थुनिएपछि बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी आएको प्रारम्भिक आकलन गरिएको छ। बाढीको कारणबारे थप अध्ययन भइरहेको छ।
नेपाली सेनाका अधिकारीहरूले हेलिकप्टरबाट गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच गएको पहिरोको निरीक्षण गरेका थिए। निरीक्षणपछि सैनिक अधिकारीहरूले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई यस्तो रिपोर्टिङ गरेका हुन् ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार पहिरो खसेर नदी थुनिएको र त्यसपछि अवरोध खुल्दै जाँदा पानीको बहाव बढेर बाढी आएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ।
बाढी आउनुको वास्तविक कारण पत्ता लगाउन ड्रोनसहितको टोली परिचालन गरिएको डा. उप्रेतीले जानकारी दिए। उनका अनुसार बाढीको कारणबारे थप अध्ययन भइरहेको छ र अनुसन्धानपछि विस्तृत विवरण प्राप्त हुनेछ।
यता, जिल्ला प्रहरी कार्यालय गोरखाले सिरिङ्गे हिमालमा हिमपहिरो गएर स्थानीय उइनगुलुङ खोला थुनिएपछि बुढीगण्डकी नदीमा बाढी आएको दाबी गरेको छ। प्रारम्भिक विवरणअनुसार हिमालमा गएको पहिरोका कारण नदीको बहाव अवरुद्ध भई पछि अचानक खुलेपछि बाढी आएको हुन सक्ने देखिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार बिहान करिब साढे ४ बजे पहिरो खसेको थियो। नदीको तीव्र बहावले पहिरोका कारण बनेको अवरोध भत्काउँदा लेदो र गेग्रानसहित आकस्मिक बाढी आएको हो।
बाढीका कारण हालसम्म १० जना सम्पर्कविहीन भएका छन्। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाअन्तर्गतका तटीय क्षेत्रमा रहेका ६ वटा पुलसमेत बाढीले बगाएको छ।
बाढीको कारण, क्षतिको अवस्था र बेपत्ताहरूको खोजीबारे सम्बन्धित निकायले थप अनुसन्धान तथा आवश्यक काम अघि बढाइरहेका छन्।




