काठमाडौं । भारतको राजधानी दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिनुका साथै सडकमा अवरोध खडा गरिएका बेला जेन–जी नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का शीर्ष नेताहरू अदालतको आदेशपछि रिहा भएका छन्। दिल्लीमा लगातार दोस्रो दिन पनि प्रदर्शन जारी छ।
भारतका प्रधानन्यायाधीशले रोजगारीविहीन केही युवालाई ‘कक्रोच’ अर्थात् साङ्ला भनेपछि त्यसको विरोधमा मे महिनामा आन्दोलन सुरु गरेका अभिजित दिप्के र अन्य नेताहरू चुनावी सुधारको माग गर्दै प्रदर्शनको नेतृत्व गर्न शनिबार दिल्ली पुगेका थिए। उनीहरू विमानबाट ओर्लिनेबित्तिकै पक्राउ परेका थिए।
रिहाइपछि पहिलो प्रतिक्रिया दिँदै दिप्केले भने, “सीजेपी पछि हट्ने छैन र डराउने पनि छैन।”
शनिबार सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार प्रहरीले करिब सात हजार प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई राति अबेर रिहा गरिएको थियो।
भारतमा राजनीतिक दलका रूपमा दर्ता नभएको सीजेपीले महत्त्वपूर्ण राज्यहरूमा विधानसभा निर्वाचन हुन केही महिना मात्रै बाँकी रहेका बेला चुनावी सुधारको माग गरिरहेको छ।
यस समूहले मतदाता नामावलीमा हेरफेर गरेको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा पनि माग गरेको छ। तर, निर्वाचन आयोगले मतदाता नामावलीमा हेरफेर गरेको आरोप अस्वीकार गरेको छ।
आइतबार बिहान सीजेपीकी वकिल रत्ना सिंहले प्रहरीबाट आफूले जानकारी पाएको बताएकी थिइन्। उनका अनुसार दिप्के र सीजेपीका अन्य दुई वरिष्ठ नेता सौरभ दास तथा आशुतोष रांकालाई ‘सार्वजनिक शान्ति कायम राख्न’ भन्दै म्याद थपको मागसहित प्रहरीले मजिस्ट्रेटसमक्ष उपस्थित गराउने तयारी गरेको थियो।
त्यसपछि सिंहले सामाजिक सञ्जाल एक्समा अदालतले तीनै जनालाई रिहा गरेको जानकारी दिएकी थिइन्। उनीहरूले एक वर्षसम्म शान्ति भंग हुने गतिविधिमा संलग्न नहुने सर्तमा रिहा भएको उनको प्रारम्भिक पोस्टमा उल्लेख थियो। तर, उनले पछि उक्त सर्तसम्बन्धी पोस्ट हटाएकी थिइन्। त्यसैले उक्त सर्तको वास्तविक अर्थ के हो र सीजेपीका नेताहरूले प्रदर्शनमा सहभागी हुन पाउँछन् वा पाउँदैनन् भन्ने स्पष्ट भएको छैन।
रिहाइपछि दिप्केले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन्। उनले लेखेका छन्, “प्रधानमन्त्रीका रूपमा मोदी भारतका लागि लज्जाको विषय हुन्।”
अर्को पोस्टमा उनले पक्राउ परेको अघिल्लो दिन निधन भएकी हजुरआमाको अन्त्येष्टिमा सहभागी हुन आफ्नो गाउँ फर्किन लागेको बताएका छन्।
“दुःखको यस घडीमा परिवारसँग रहन म आफ्नो गाउँ फर्किंदै छु,” उनले लेखेका छन्। साथै, दास र रांकाले दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने पनि उनले जानकारी दिएका छन्।
“सीजेपी पछि हट्ने छैन र डराउने पनि छैन,” दिप्केले पुनः दोहोर्याएका छन्।
शनिबार विमानस्थलमा नाटकीय दृश्य देखिएको थियो। दिप्के, दास र रांका सवार विमान अवतरण गरेलगत्तै प्रहरी अधिकारीहरू विमानभित्रै प्रवेश गरेर उनीहरूलाई नियन्त्रणमा लिएका थिए।
दिल्लीको प्रसिद्ध जन्तरमन्तरमा शनिबार प्रदर्शन गर्न प्रहरीले अनुमति दिएको थिएन। प्रदर्शनकारीलाई उक्त स्थानमा पुग्न नदिन राजधानीमा अभूतपूर्व प्रतिबन्धहरू लगाइएका थिए। यसका कारण दिल्ली लगभग ठप्पजस्तै बनेको थियो।
प्रदर्शन नियन्त्रण गर्न कम्तीमा ४५ वटा मेट्रो स्टेसन बन्द गरिएका थिए। दिल्लीका प्रमुख रेलवे स्टेसनहरू पनि बन्द गरिनुका साथै लामो दूरीका धेरै रेल सेवा रद्द गरिएका थिए। बाहिरी क्षेत्रबाट प्रदर्शनमा सहभागी हुन आउँदै गरेका धेरै प्रदर्शनकारीलाई बाटोमै सवारीसाधनबाट ओरालिएको थियो।
यसैगरी, शनिबार दिनभर मध्यदिल्लीमा इन्टरनेट सेवासमेत सीमित गरिएको थियो।




