काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ।
घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा–आराधना गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। यस दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजा–आराधना गरिने भएकाले घटस्थापनालाई बडादसैँको सुरुवातका रूपमा लिइन्छ।
हनुमानढोकास्थित दसैँघरमा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। बडादसैँका अवसरमा घटस्थापनादेखि नवदुर्गाको पूजा गरिन्छ भने विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने चलन छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बडादसैँमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई आपसी सद्भाव, प्रेम र आशीर्वाद साटासाट गर्ने गरिन्छ।




