काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मुलुकका २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सारबाट सबैभन्दा बढी मूल्यको वस्तु आयात तथा निर्यात भएको छ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा वीरगञ्ज भन्सार नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यसै अवधिमा सोही नाकाबाट ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ।
आयाततर्फ वीरगञ्जपछि भैरहवा र विराटनगर भन्सार दोस्रो र तेस्रो स्थानमा रहेका छन्। तथ्यांकअनुसार भैरहवा भन्सारबाट ९८ अर्ब ८१ करोड रुपैयाँ र विराटनगर भन्सारबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ५१ अर्ब ६२ करोड रुपैयाँ र मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। चीनसँगको उत्तरी व्यापारिक नाका रसुवा भन्सारबाट ७ अर्ब ९१ करोड रुपैयाँ र तातोपानी भन्सारबाट १ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।
निर्याततर्फ पनि वीरगञ्ज भन्सार नै पहिलो स्थानमा रहेको छ। समीक्षा अवधिमा वीरगञ्जबाट ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। दोस्रो स्थानमा रहेको विराटनगर भन्सारबाट २९ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १२ अर्ब ७१ करोड रुपैयाँ, भैरहवा भन्सारबाट ११ अर्ब ५१ करोड रुपैयाँ र मेची भन्सारबाट ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
मुलुकका २८ भन्सार नाकाबाट वस्तु आयात भइरहे पनि १२ वटा भन्सार कार्यालयबाट भने समीक्षा अवधिमा स्वदेशी वस्तुको निर्यात शून्य रहेको छ। विभागका अनुसार भद्रपुर, जनकपुर, महेशपुर, पोखरा, राजविराज, सती, सिराहा, सुनसरी, सुठौली, तातोपानी, ठाडी र त्रिवेणी भन्सार कार्यालयबाट तीन महिनाको अवधिमा कुनै पनि वस्तु निर्यात भएको छैन।
विशेषगरी चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट १ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने शून्य रहेको छ। यसले समीक्षा अवधिमा उक्त नाकाबाट आयात भए पनि स्वदेशी वस्तुको निर्यात हुन नसकेको देखाएको छ।



