Global College

लुम्बिनी केबलकारमा भारतीय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि, पाँचतारे होटेल र क्यासिनो समेत निर्माण अन्तिम चरणमा

काठमाडौं । लुम्बिनी केबलकारमा भारतीय पर्यटकको सङ्ख्या एक वर्षमा २४ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको आगमन बढेको हो। केबलकार चढ्ने कुल पर्यटकमध्ये भारतीयको हिस्सा २९ प्रतिशत रहेको कम्पनीले जनाएको छ।

मङ्गलबार सम्पन्न कम्पनीको २३औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले  जानकारी दिएका हुन्।

भारतको उत्तर प्रदेशसहित दिल्ली, झारखण्ड, बिहार, केरला र आन्ध्र प्रदेशबाट समेत पर्यटक केबलकार चढ्न आउने गरेका छन्। उनीहरू पाल्पाको वसन्तपुर डाँडामा रहेको कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमणका लागि पुग्ने गरेका छन्।

भारतीय पर्यटकलाई आकर्षित गर्न सीमावर्ती क्षेत्रका यातायात चालकलाई विशेष सुविधा दिने र भारतीय भ्लगरमार्फत केबलकारको प्रचारप्रसार गर्ने काम भइरहेको कम्पनीले जनाएको छ।

यसैबीच केबलकारको माथिल्लो स्टेसन वसन्तपुरमा पाँचतारे स्तरको होटेल र क्यासिनो निर्माणको काम अघि बढाइएको छ। होटेलको नक्सापास प्रक्रिया अन्तिम चरणमा पुगेको र खानेपानी आपूर्तिको व्यवस्था पनि आंशिक रूपमा पूरा भएको अध्यक्ष ढकालले बताएका छन्।

कम्पनीले आगामी आर्थिक वर्षमा रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइडजस्ता मनोरञ्जनका साधन थप्ने योजना बनाएको छ। यसबाट केबलकारमा आउने पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बजार प्रवद्र्धनका लागि कम्पनीले बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटेल, ४० भन्दा बढी सङ्घसंस्था तथा ४५ भन्दा बढी शिक्षण संस्थासँग सहकार्य गरेको छ। भाटभटेनी सुपरमार्केट, क्युएफएक्स सिनेमा, लुम्बिनी विकास कोष र शङ्करनगर वन विहारसँग पनि सहकार्य तथा टिकटमा छुट दिने सम्झौता गरिएको कम्पनीले जनाएको छ।

विश्वको भूराजनीतिक अवस्था र बजारमा बढ्दो मूल्यवृद्धिका बाबजुद खर्च नियन्त्रण र मितव्ययितामा जोड दिँदै कम्पनीले आगामी केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान पुर्‍याइरहेको जनाएको छ।

NECO

Leave Your Comment

Related News