काठमाडौं । नेपालमा कुल अर्थिक महिनको ३ महिनमा ६६ लाख ६० हजार केजीभन्दा बढी विभिन्न कृषिजन्य बाली, मसला तथा तरकारीका बीउहरू आयात भएको छ, जसको कुल आयात मूल्य झन्डै १८ करोड रुपैयाँ बराबर रहेको छ। कृषिप्रधान देश भनिए पनि दैनिक भान्सामा प्रयोग हुने आधारभूत मसलादेखि व्यावसायिक तरकारी खेतीका लागि आवश्यक पर्ने बीउबिजनमा विदेशमाथिको निर्भरता कायम रहँदा बर्सेनि करोडौँ रुपैयाँ वैदेशिक मुद्रा बाहिरिने गरेको छ।
तथ्याङ्कलाई हेर्दा आयातको सबैभन्दा ठूलो हिस्सा मसलाजन्य बीउहरूले ओगटेका छन्। समीक्षा अवधिमा ३५ लाख ६४ हजार ५२८ केजी असाबुत जिरा आयात गर्दा ११ करोड ७६ लाख १९ हजार रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ। त्यसैगरी, २५ लाख ४२ हजार ८७५ केजी असाबुत धनियाँ आयातमा करिब ३ करोड ९८ लाख २५ हजार रुपैयाँ खर्च भएको छ। यसबाहेक सौँफ र अन्य सुगन्धित मसलाका बीउहरू २ लाख ३६ हजार ९९३ केजी आयात गर्दा थप ५० लाख ८० हजार रुपैयाँ बाहिरिएको छ।
व्यावसायिक तरकारी खेतीका लागि आयात हुने बीउहरूको माग र मूल्य पनि उत्तिकै उच्च छ। अन्य विभिन्न तरकारीका बीउहरू मात्रै १ लाख ७२ हजार ९४६ केजी (मूल्य करिब १ करोड ४३ लाख रुपैयाँ) भित्रिएका छन्। परिमाणका हिसाबले कम देखिए पनि काउली, बन्दागोभी, प्याज र गोलभेडाजस्ता बीउहरू महँगो दरमा खरिद हुने गरेका छन्। उदाहरणका लागि, ५ हजार ५५२ केजी प्याजको बीउका लागि १८ लाख ५५ हजार रुपैयाँभन्दा बढी खर्च भएको छ भने १ हजार ४०३ केजी काउलीको बीउका लागि ६० लाख २४ हजार रुपैयाँ र १ हजार ८० केजी बन्दागोभीको बीउका लागि २५ लाख ८८ हजार रुपैयाँ तिरेको देखिएको छ। यस्तै, १६३ केजी गोलभेडाको बीउ आयात गर्दा १६ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ। तरकारी र मसलाको तुलनामा धानको बीउ भने जम्मा ६७ केजी आयात भएको छ जसको मूल्य ५० हजार रुपैयाँ रहेको छ , जसले धानको बीउमा देश केही हदसम्म आत्मनिर्भर भएको देखाउँछ।
देशगत रूपमा हेर्दा, नेपालले सामान्य तथा दैनिक उपभोग्य बीउका लागि मुख्य रूपमा भारतमा भर पर्नुपरेको छ। असोज महिनसम्मा प्याजको बीउ भारतबाट ५ हजार २५० केजी र अन्य तरकारीको बीउ १ लाख ६९ हजार ९६ केजी भारतबाटै भित्रिएको छ। यसबाहेक दक्षिण कोरिया, दक्षिण अफ्रिका र बंगलादेशबाट पनि केही परिमाणमा बीउ आएका छन्। तर, उन्नत तथा विशेष जातका बीउका लागि भने नेपालले चिली, इटाली, चीन, संयुक्त राज्य अमेरिका, जापान, थाइल्याण्ड र न्युजिल्याण्डजस्ता देशहरूसँग पनि ठूलै परिमाणमा निर्भर रहनुपरेको स्पष्ट हुन्छ।



