Global College

सेयर बजारमा नयाँ वित्तीय उपकरण भित्र्याउन सेबोनले गठन गर्‍यो सात सदस्यीय समिति

काठमाडौं । नेपालको पूँजी बजारलाई थप विविधीकरण र विस्तार गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि सात सदस्यीय समिति गठन गरेको छ।

बोर्डले पूँजी बजारमा शेयर कारोबारमा मात्र निर्भरता घटाउँदै विभिन्न प्रकारका वित्तीय उपकरणको कारोबार विस्तार गर्न आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गर्ने उद्देश्यले समिति गठन गरेको हो।

बोर्डका कायममुकायम कार्यकारी निर्देशक दीपा दहालको संयोजकत्वमा गठित समितिमा नेपाल राष्ट्र बैंकबाट निर्देशकस्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रतिनिधि तथा मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिसहित सात सदस्य रहेका छन्।

समितिलाई नेपालको धितोपत्र बजारमा कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ), रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटी), इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट (इन्भाइट) लगायतका वित्तीय उपकरण विकास गर्ने विषयमा अध्ययन गरी कार्यान्वयनको प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छ।

त्यसैगरी, चरणबद्ध रूपमा डेरिभेटिभ वित्तीय उपकरणको कारोबार सुरु गर्ने सम्भावनासमेत समितिको कार्यक्षेत्रमा राखिएको छ। यसअन्तर्गत कमोडिटी फ्युचर्स, करेन्सी डेरिभेटिभ्सलगायतका उपकरणको विकास तथा सञ्चालनका लागि आवश्यक बजार संरचना र पूर्वाधारबारे अध्ययन गरिनेछ।

बोर्डले सार्वजनिक गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ मा पनि बजारको गहिराइ तथा विविधीकरणलाई प्राथमिकतामा राखिएको छ। मार्गचित्रअनुसार कर्पोरेट बन्ड मार्केट, ग्रिन बन्ड, म्युनिसिपल बन्ड, ईटीएफ, आरईआईटी, इन्भाइट तथा डेरिभेटिभ मार्केटको चरणबद्ध विकास गर्ने योजना अघि सारिएको छ।

समितिको पहिलो बैठक आज बसेको छ। बैठकबाट नयाँ वित्तीय उपकरणको अवधारणा, आवश्यक कानुनी व्यवस्था, बजार संरचना तथा प्राविधिक तयारीसम्बन्धी काम अघि बढाइएको बोर्डले जनाएको छ।

नयाँ वित्तीय उपकरणको विकास र सञ्चालनले नेपालको पूँजी बजारलाई शेयर कारोबारमा मात्र सीमित नराखी बहुआयामिक बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ। यसबाट लगानीकर्ताले लगानीका थप विकल्प पाउनुका साथै दीर्घकालीन पूँजी परिचालन र बजारको विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News