हेटौँडा। कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि पहिलो चेतावनी जारी गरिएको छ । नेपाल विद्युत प्राधिकरण कुलेखानी प्रथम आयोजनाले जलाशयमा पानीको मात्र बढ्दै गएकाले पहिलो चेतावनी जारी गरिएको हो ।
कुलेखानी जलविद्युत आयोजनाको जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढ्दै गएको छ । जलसतह सन्तुलित राख्न बाँधको ढोका खोल्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै कुलेखानी प्रथम जलविद्युत् केन्द्रले ‘पहिलो चेतावनी’ जारी गरेको हो ।
आयोजनाका अनुसार पानीको वृद्धिदर उच्च रहेकाले जलसतह नियन्त्रण गर्न ड्यामका ढोका खोल्नुपर्ने अवस्था आएमा थप सूचना सम्प्रेषण गरी पूर्वचेतावनीको साइरन बजाइनेछ । आयोजनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ड्यामको तल्लो तटीय क्षेत्र तथा नदी किनार आसपासका बस्तीमा रहेका सम्पूर्ण नागरिकहरुलाई खोला किनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । साथै, सो क्षेत्र भएर आवतजावत गर्ने देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार हाल कुलेखानी ड्याममा पानीको सतह १ हजार ५२७.९३ मिटर पुगिसकेको छ । वर्षा निरन्तर जारी रहेकाले अबको केही घण्टामै जलसतह १ हजार ५२८ मिटर पार हुने देखिएको उनले बताए ।
प्रजिअ अधिकारीले नदी आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् भने विपद्को जोखिमबाट बच्न आयोजनाबाट जारी हुने आधिकारिक सूचनाहरु र मोबाइलमा आउने एसएमएस सतर्कता सन्देशमा उल्लिखित निर्देशनहरुलाई पूर्ण रूपमा पालना गर्न निर्देशन गरेका छन् ।



