हेटौँडा । लगातारको वर्षाले मकवानपुरका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडा र काठमाडौं जोड्ने दुई छोटो दूरीका सडक अवरुद्ध भएका छन् ।
हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक र कान्तिलोकपथ अवरुद्ध हुँदा दुवै सडक हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित पेट्रोल पम्पनजिकै शनिबार बिहान करिब १०ः३० बजे माथिबाट लेदोसहितको पहिरो खसेपछि हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
पहिरोका कारण सडकमा सवारी आवागमन ठप्प भएपछि प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन जेसीबीको व्यवस्था गर्न समन्वय भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
यस्तै, कान्तिलोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे र ललितपुरको वाग्मती गाउँपालिका–४ पाङदुरेमा पहिरो खस्दा उक्त सडक पनि अवरुद्ध भएको छ ।
शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण शनिबार बिहान करिब ५ बजेदेखि सडकमा यातायात सञ्चालन हुन नसकेको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार मकवानपुरतर्फको पहिरो पानी पर्न रोकिएपछि हटाउन सकिने अवस्था छ ।
तर, ललितपुरतर्फ ठूलो पहिरो खसेकाले सडक खुलाउन चुनौती रहेको छ । दुवै स्थानको पहिरो हटाएर यातायात सञ्चालन गर्न कान्तिलोकपथ सडक आयोजनासँग समन्वय भइरहेको उनले बताए ।
सडक अवरुद्ध भएपछि कान्तिलोकपथ हुँदै हेटौँडाबाट काठमाडौं जाँदै गरेका सवारीसाधन ठिंगनमा रोकिएका छन् । काठमाडौं हुँदै हेटौँडा आउँदै गरेका सवारीसाधन छैमले क्षेत्रमा रोकिएका छन् ।
यसैबीच, वर्षाका कारण पहिरोको जोखिम बढेपछि मकवानपुर प्रशासनले कान्तिलोकपथमा शुक्रबार र शनिबार रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ ।
दुईवटै छोटो दूरीका सडक अवरुद्ध हुँदा हेटौँडा–काठमाडौँ आवतजावत गर्ने यात्रुले थप सास्ती बेहोर्नुपरेको छ ।



