Global College

घाटामा रहेको खानीखोला हाइड्रोपावर ३.६५ करोड रुपैयाँ नाफामा, विद्युत् बिक्री आम्दानी २७६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वित्तीय विवरण उल्लेख्य सुधार गर्दै खुद नाफा आर्जन गरेको छ। कम्पनीद्वारा सार्वजनिक वित्तीय विवरणअनुसार गत वर्ष घाटामा रहेको कम्पनी यसपालि नाफामा फर्किएको हो।

गत आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड ८९ लाख १४ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा सुध्रिँदै ३ करोड ६५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। दुवै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएसँगै आम्दानीमा आएको उछालले नाफा बढाउन मुख्य भूमिका खेलेको छ।

विद्युत् बिक्री आम्दानी र सञ्चालन नाफामा फड्को

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २७६ प्रतिशतभन्दा बढीले वृद्धि भई ६ करोड ८५ लाख २२ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आम्दानी १ करोड ८२ लाख २१ हजार रुपैयाँमा सीमित थियो।

आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा पनि १ करोड १५ लाख रुपैयाँबाट बढेर ५ करोड ७३ लाख ५९ हजार रुपैयाँ पुगेको छ। अर्कोतर्फ, वित्तीय व्यवस्थापन सुध्रिँदा बैंक ब्याज खर्च १ करोड ९३ लाख रुपैयाँबाट घटेर ९१ लाख ९३ हजार रुपैयाँमा झरेको छ।

सञ्चित घाटा र वित्तीय सूचकमा सुधार

कम्पनीको चुक्ता पूँजी ९३ करोड १४ लाख २८ हजार रुपैयाँ र दीर्घकालीन ऋण ५९ करोड ४५ लाख रुपैयाँ कायम भएको छ। वित्तीय सुदृढताका कारण जगेडा कोषको सञ्चित नोक्सानी १६ करोड ४८ लाख रुपैयाँबाट घटेर ८ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ।

यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी  ऋणात्मक अवस्थाबाट सुध्रिएर १५ रुपैयाँ ७१ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ७८ पैसा पुगेको छ।

NECO

Leave Your Comment

Related News