तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झण्डै ८० प्रतिशत सम्पन्न भएको हो ।
प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खनन कार्य सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पूरा भएको छ ।
भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्ट ट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कंक्रिटिङलगायत प्रमुख संरचनामा उत्खनन तथा कंक्रिटिङको काम करिब सम्पन्न भएको छ । मुख्य सुरुङको कंक्रिट लाइनिङ कार्य अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
भूमिगत विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडानको काम अघि बढेको छ । विद्युत्गृहमा जेनेरेटर, टर्बाइन, सीसीटीभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा परीक्षण भइरहेको उनले बताए ।
त्यसैगरी, वातावरणीय बहावका लागि निर्माण गरिने विद्युत्गृह र बाँध सञ्चालन भवनको निर्माण जारी रहेको छ । भूमिगत विद्युत्गृह तथा सुरुङका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न हुँदै गर्दा उपकरण जडान र परीक्षणलाई पनि सँगसँगै अघि बढाइएको आयोजनाले जनाएको छ ।
प्याकेज–२ अन्तर्गतका यी संरचना तथा उपकरण निर्माणको काम सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ ।



