Global College

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। शुक्रबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा भूमिपूजा गर्दै भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन्।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने भवनमा दुई तला भूमिगत पार्किङ, एउटा ग्राउन्ड फ्लोर र नौ वटा माथिल्ला तला रहनेछन्। आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार र अत्याधुनिक प्रविधि समेटेर भवन निर्माण गर्न लागिएको बैंकले जनाएको छ। भूमिपूजापछि अध्यक्ष ढकालले नयाँ भवन वाणिज्य बैंकका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचनामध्ये एक हुने बताए। भवनले बैंकको सेवा थप सहज, प्रविधिमैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही र कर्मचारीको सुविधालाई ध्यानमा राखेर भवनको डिजाइन तयार गरिएको बताए। उनका अनुसार भवनमा ऊर्जा बचत गर्ने प्रविधि, आकाशे पानी संकलन तथा प्रशोधन प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा जडान गरिनेछ। यी व्यवस्थाले प्राकृतिक स्रोतको उपयोग र वातावरणीय सन्तुलनमा सहयोग पुग्ने बैंकको विश्वास छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापनका अधिकारी तथा कर्मचारीको उपस्थिति थियो।

ग्लोबल आइएमई बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ। बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५ तथा बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयरलगायतका पुरस्कार पनि प्राप्त गरेको छ।बैंकका अनुसार मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक ग्लोबल आइएमई हो। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय छन्। यी सञ्जालमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ।

NECO

Leave Your Comment

Related News