काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटार नजिकै रहेको घोप्टेभीरमा आज बिहानै सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा गाडीहरूको दुवैतर्फी आवतजावत ठप्प बनेको छ।
नागढुङ्गा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सचिन्द्र मिश्रका अनुसार पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउनका लागि आवश्यक मेसिन तथा उपकरणहरू सम्बन्धित स्थानमा परिचालन भइसकेका छन्। पहिरो ठूलो रहेकाले पन्छाएर बाटो खुलाउन करिब ३ घण्टा लाग्ने अनुमान गरिएको छ।
राजमार्ग अवरुद्ध भएसँगै सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। बाटो नखुलुञ्जेलसम्मका लागि यात्रु तथा सवारी चालकहरूलाई धैर्यता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरी तथा सडक योजनाले आग्रह गरेको छ।



