काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको मुख्य व्यवसायिक बीमाशुल्क संकलनमा राम्रो वृद्धि भए पनि समग्र खर्च बढी हुँदा कम्पनी ८ करोड १८ लाख ७१ हजार ५६२ रुपैयाँ खुद नोक्सानीमा देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ८ करोड ३१ लाख ३४ हजार रुपैयाँ खुद नोक्सानीमा थियो। गत वर्षको तुलनामा चालु आवमा कम्पनीको नोक्सानी १.५ प्रतिशतले केही कम भएको हो।
व्यवसाय विस्तारको पक्षमा भने कम्पनीले सन्तोषजनक प्रगति गरेको छ। चालु आवको पहिलो तीन महिनामा कम्पनीले कुल प्रत्यक्ष बीमाशुल्क संकलन २४.१ प्रतिशत ले बढाएर १ अर्ब १५ करोड १७ लाख ३१ हजार ७२६ रुपैयाँ पुर्याएको छ। गत वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क संकलन ९२ करोड ८३ लाख ७६ हजार ५७८ रुपैयाँ मात्र थियो। त्यसैगरी, कुल आर्जित बीमाशुल्क ९.० प्रतिशतले बढेर ५२ करोड ६२ लाख ८२ हजार ८१२ रुपैयाँबाट ५७ करोड ३७ लाख १४ हजार ७१० रुपैयाँ पुगेको छ। पुनर्बीमा शुल्क कटाएर बाँकी रहने खुद बीमाशुल्क आर्जन पनि १५.२ प्रतिशत ले बढेर २९ करोड ५४ लाख ७ हजार ३४४ रुपैयाँबाट ३४ करोड ३ लाख ७० हजार ५९२ रुपैयाँ कायम भएको छ।
यद्यपि, बैंकको निक्षेप ब्याजदर घटेका कारण कम्पनीले लगानी तथा कर्जाबाट गर्ने आम्दानीमा भने कमी आएको छ। गत वर्ष ५ करोड २८ लाख ७६ हजार ५७ रुपैयाँ रहेको यस्तो आम्दानी चालु आवमा घटेर ४ करोड २५ लाख ५७ हजार ३५ रुपैयाँमा झरेको छ। ब्याज आम्दानी घटे पनि बीमाशुल्क बढेका कारण कम्पनीको कुल आम्दानी समग्रमा ४.४ प्रतिशतले बढेर ४७ करोड १८ लाख १२ हजार १२९ रुपैयाँबाट ४९ करोड २५ लाख ९३ हजार १८३ रुपैयाँ पुगेको छ।
खर्च र दाबी भुक्तानीतर्फ हेर्दा कम्पनीले बीमा दाबी बापत तिर्नुपर्ने रकम घटाउन सफल भएको छ। समीक्षा अवधिमा कुल दाबी भुक्तानी १८.५ प्रतिशतले घटेर गत वर्षको ५२ करोड ९९ लाख ६० हजार २८३ रुपैयाँबाट ४३ करोड १६ लाख ८३ हजार ७७ रुपैयाँ मा झरेको छ। त्यस्तै, खुद दाबी खर्च पनि ११.७ प्रतिशतले घटेर ४० करोड ५६ लाख ५७ हजार ७३० रुपैयाँबाट ३५ करोड ८१ लाख ३३ हजार १७९ रुपैयाँ कायम भएको छ। तर, दाबी भुक्तानी घटे पनि कम्पनीको अन्य सञ्चालन खर्च बढेका कारण कुल खर्च ३.२ प्रतिशतले वृद्धि भई ५९ करोड ५ लाख ७५ हजार ९२३ रुपैयाँबाट ६० करोड ९५ लाख ५२ हजार ५५६ रुपैयाँ पुगेको छ। कुल आम्दानीभन्दा कुल खर्च करिब ११ करोड ६९ लाख रुपैयाँले बढी भएकाले कम्पनी खुद नोक्सानीमा गएको हो।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड २२ लाख ७६ हजार ३०० रुपैयाँ यथावत रहेको छ। नोक्सानीका कारण जगेडा कोष प्रभावित हुँदा कुल इक्विटी १.४ प्रतिशतले घटेर ६ अर्ब १८ करोड ९४ लाख ६१ हजार ६७३ रुपैयाँ कायम भएको छ। यस अवधिमा कम्पनीको कुल सम्पत्ति ९.३ प्रतिशतले बढेर १३ अर्ब २९ करोड २९ लाख ६२ हजार ५५० रुपैयाँ र कुल दायित्व २०.७ प्रतिशतले बढेर ७ अर्ब १० करोड ३५ लाख ८७७ रुपैयाँ पुगेको छ। कम्पनी नोक्सानीमा रहेकाले वार्षिक प्रतिशेयर आम्दानी ११.८१ रुपैयाँ ऋणात्मक रहेको छ गत वर्ष १२.३५ रुपैयाँ ऋणात्मक थियो र प्रतिशेयर नेटवर्थ २२३.२६ रुपैयाँ रहेको छ। बैंकको ब्याजदरमा आएको उतारचढाव, महँगी, आर्थिक गतिविधिमा आएको सुस्तता र सर्वसाधारणमा बीमा सचेतनाको कमीका कारण व्यवसाय सञ्चालनमा चुनौती थपिएको कम्पनीले जनाएको छ।



