Global College

एनपीएल: पहिलाे क्वालिफायरमा लुम्बिनि र सुदुरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज मङ्गलबार पहिलो क्वालिफायर खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५:०० बजे सुरु हुने यस खेलको विजेता टोली सिधै उपाधि भिडन्त (फाइनल) मा प्रवेश गर्नेछ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स लिग चरणका ७ खेलमध्ये ५ जित, १ हार र १ खेलमा अङ्क बाँड्दै कुल ११ अङ्कसहित तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको हो। उता, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले भने ७ खेलमा ५ जित र २ हारसहित १० अङ्क जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान सुरक्षित गरेको हो। प्रतियोगिताको सुरुवाती ३ खेलमा २ हार बेहोरेको सुदूरपश्चिमले त्यसयता लगातार ४ खेल जित्दै उत्कृष्ट पुनरागमन गरेको छ।

एनपीएलको इतिहासमा लुम्बिनी र सुदूरपश्चिमबीच हालसम्म भएका ४ भेटमा दुवै टोलीले समान २–२ खेल जितेका छन्। यद्यपि, यस सिजनको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो भने अघिल्लो सिजनको फाइनलमा पनि लुम्बिनीले नै बाजी मारेको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलसँगै डी’आर्सी सर्ट, आसिफ शेख, शेर मल्ल, निरोशन डिकवेला र किशोर महतो मुख्य हतियार हुन्। सुदूरपश्चिमको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरी (१५० रन) र बलिङमा अनिल खरेल (१० विकेट) उच्च लयमा देखिएका छन्।

लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेलिरहेको सुदूरपश्चिम अघिल्ला दुई संस्करणमा उपविजेतामा सीमित भएको इतिहास बदल्दै सिधै फाइनल पुग्ने दाउमा छ। साविक विजेता लुम्बिनी भने उपाधि रक्षाको यात्रालाई सहज बनाउन आजै फाइनलको टिकट काट्न चाहन्छ। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छैन; उसले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा भोलि बुधबार काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच हुने एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।

NECO

Leave Your Comment

Related News