Global College

जर्मनी र नेदरल्यान्ड्स नेसन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । जर्मनी र नेदरल्यान्ड्स यूईएफए नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। सोमबार राति भएको समूह ए २ को खेलमा जर्मनीले नेदरल्यान्ड्सलाई ५–० ले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम आठमा स्थान बनाएको हो। पराजित भए पनि नेदरल्यान्ड्स समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ।

जर्मनीको जितमा फ्लोरियन विर्ट्जले दुई गोल गरे। डेरी शेरह्यान्ट, निको स्लोटरबेक र ब्रायन ग्रुडाले एक–एक गोल थपे। शेरह्यान्टले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा विर्ट्जले गोल थपेपछि जर्मनीले अग्रता दोब्बर बनायो। त्यसपछि स्लोटरबेक, विर्ट्ज र ग्रुडाले गोल थप्दै टोलीलाई फराकिलो जित दिलाए।

यो समूहको अर्को खेलमा ग्रीसले सर्बियालाई १–० ले हरायो। ग्रीसका लागि जियोर्गोस मासुरासले दोस्रो हाफमा निर्णायक गोल गरे। जितका बाबजुद ग्रीस क्वार्टरफाइनलमा पुग्न सकेन। जर्मनी, नेदरल्यान्ड्स र ग्रीसले समान ११ अंक जोडे पनि आपसी खेलको नतिजाका आधारमा जर्मनी र नेदरल्यान्ड्सले अन्तिम आठमा स्थान बनाए।

आइतबार बेल्जियमले इटालीलाई हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। बेल्जियमले पहिलो हाफमै तीन गोल गर्दै ४–१ को जित निकालेको थियो। फ्रान्स पनि अन्तिम आठमा पुगिसकेको छ। इंग्ल्यान्डले स्पेनलाई ३–२ ले हराउँदै उसको लगातार ४३ खेलको अपराजित यात्रा टुंग्याएको थियो। नेसन्स लिगको समूह चरणका बाँकी खेल मंगलबार हुनेछन्। डेनमार्क र नर्वेबीचको खेलबाट क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ।

समूह बी १ मा स्लोभेनियाले नर्थ म्यासेडोनियालाई ३–० ले हराउँदा स्विट्जरल्यान्डले स्कटल्यान्डमाथि ४–० को जित निकाल्यो। समूह सी ३ मा फारो आइल्यान्ड्सले मोल्डोभालाई १–० ले हरायो। काजकस्तान र स्लोभाकियाले २–२ को बराबरी खेले।

समूह सी ४ मा इस्टोनियाले बुल्गेरियालाई २–१ ले पराजित गर्दा आइसल्यान्डले लक्जेम्बर्गमाथि ३–० को जित निकाल्यो। समूह डी १ मा जिब्राल्टर र माल्टाले १–१ को बराबरी खेले। समूह डी२ मा लिथुआनियाले लिचेस्टाइनलाई २–१ ले हरायो।

NECO

Leave Your Comment

Related News