काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रस्तावित लाभांश पारित गर्ने उद्देश्यसहित आफ्नो ४०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले आगामी मंसिर २३ गते साधारणसभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बैंकको हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाबाट स्वीकृत गरिनेछ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ।
सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।



