काठमाडौं । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३र८४ को साउनदेखि असोजसम्म ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ४१ लाख रुपैयाँ मात्रै उठेको हो ।भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार नेपाल–भारत सीमानाकामा आवतजावत घट्दा भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्व प्रभावित भएको छ । कोइलाबास भन्सारको प्रमुख राजस्व स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारी हो ।
कार्यालयका अनुसार साउनमा १३ लाख रुपैयाँ लक्ष्य रहेकामा ११ लाख, भदौमा १४ लाख ८९ हजार लक्ष्य रहेकामा ८ लाख ४० हजार र असोजमा १६ लाख लक्ष्य रहेकामा ८ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । असोज मसान्तसम्म मुद्दा लिलामीबाट १३ लाख रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट दैनिक ६०० रुपैयाँ र मोटरसाइकलबाट २०० रुपैयाँ राजस्व लिने गरिएको छ । कोइलाबासस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको चौघेरा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा आउने भारतीय नागरिकका सवारीसाधनबाट पनि राजस्व सङ्कलन हुने गरेको छ ।
दाङ, रोल्पा र प्युठानबाट दूरीका हिसाबले छोटो भए पनि कोइलाबास नाका व्यावसायिक कारोबारका लागि आकर्षक बन्न सकेको छैन । सडक सञ्जालमा सुधार भए पनि आवश्यक भन्सार पूर्वाधार र सरकारी पहलको अभावमा नाकाको व्यावसायिक सम्भावना उपयोग हुन नसकेको व्यवसायीको भनाइ छ ।
सीमा क्षेत्रमा आवतजावतमा कडाइ, वैदेशिक पर्यटकको न्यून सङ्ख्या र व्यावसायिक कारोबार विस्तार हुन नसक्दा भन्सारको राजस्व प्रभावित भएको जनाइएको छ ।



