काठमाडौं । नेपाल बीमक संघका प्रतिनिधि र नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाबीच भेटवार्ता भएको छ ।
संघकोतर्फबाट अध्यक्ष लगायत आवद्ध सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको प्रतिनिधि मण्डलले मंगलबार अध्यक्ष थापासँग उनको कार्यकक्षमा शिष्टाचार भेटघाट गरेका हुन्।
उक्त अवसरमा संघको तर्फबाट सहभागी सदस्यहरुले अध्यक्ष थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
संघका पदाधिकारीले भेटका क्रममा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार तथा सुदृढीकरण, बीमा सेवाको पहुँचमा अभिबृद्धि, बीमितको हित संरक्षण तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शि र विश्वसनीय बनाउने विषयमा छलफल गरेका थिए ।
साथै, नेपालको बीमा क्षेत्रको विकासका लागि बीमा प्राधिकरण र बीमा कम्पनीहरुबीच आपसी समन्वय, सहकार्य र सहकार्यात्मक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत विचार आदान प्रदान गरिएको थियो ।
संघले नवनियुक्त अध्यक्षको सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाई हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।



