Global College

भारततर्फ विद्युत् निर्यातको सीमा बढाउन र प्रसारण पूर्वाधार विस्तार गर्न नेपालको पहल

काठमाडौं । नेपालले भारततर्फ विद्युत् निर्यातको सीमा बढाउन र अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्न भारतीय पक्षसँग छलफल अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार भएको भेटमा विद्युत् व्यापार र ऊर्जा पूर्वाधार विस्तारका विषयमा छलफल भएको हो।

भेटमा मन्त्री श्रेष्ठले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताए। उनले भारतीय राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै दुवै देशको हित हुने आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

छलफलमा अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तारको सम्भावना, निर्माणाधीन परियोजना निर्धारित समयमै सम्पन्न गर्ने र नेपालबाट भारततर्फ विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषय उठेको थियो। विद्युत् निर्यातको सीमा बढाउन सके नेपालमा उत्पादन हुने थप बिजुली भारतीय बजारमा पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

त्यसैगरी भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा दुई देशबीच सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ। भूमिगत पानीको स्रोत संरक्षण र पुनर्भरणका उपाय पहिचान गर्न दुवै देशले अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने सम्भावनाबारे कुराकानी भएको हो।

नेपालमा सौर्य ऊर्जाको विकास र विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने विषय पनि भेटवार्ताको एजेन्डामा थियो। दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजनालाई गति दिनुपर्नेमा जोड दिएका छन्।

NECO

Leave Your Comment

Related News