काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमै पुगेर सीईओ सुबेदीलाई बधाई तथा शुभकामना दिएको हो।
भेटका क्रममा एसोसिएसनका अध्यक्ष ढकालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। उक्त कार्ययोजना समयमै कार्यान्वयन गर्न सके पुँजीबजारका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
ढकालले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे।
जवाफमा नेप्सेका सीईओ सुबेदीले पुँजीबजारको विकास र सुधारका लागि सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताए। उनले अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल तथा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
भेटमा सहभागी दुवै पक्षले पुँजीबजारको विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय र कार्ययोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए।
एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ।



