Global College

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा निर्यातजन्य वस्तुगत सङ्घका प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति

काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयार पारिएको प्रतिनिधिमण्डलमा नेपालबाट भारततर्फ निर्यात हुने प्रमुख वस्तुगत सङ्घका एक जना पनि प्रतिनिधि समावेश नगरिएको प्रति निजी क्षेत्रका अगुवा होमप्रसाद घिमिरेले प्रश्न उठाएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का कार्यकारिणी समिति सदस्य तथा निर्यात प्रवर्द्धन समितिका सभापति एवं नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष घिमिरेले निर्यातमुखी उद्योग तथा व्यवसायीको प्रतिनिधित्वलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनका अनुसार नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन) लगायतका संस्थाहरूले निर्यातमुखी उद्योग तथा व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्न सिफारिस गरेका थिए। तर, सिफारिस गरिएका ती क्षेत्रका प्रतिनिधिहरू भ्रमण टोलीमा अटाउन नसकेको घिमिरेले बताए।

नेपालबाट भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएका मूल्य अभिवृद्धियुक्त वस्तुहरूमा फलाम तथा स्टिल, प्लाइउड, कत्था, सिमेन्ट, भेनियर, चिया, अलैँची, अदुवा र रुद्राक्ष लगायतका उत्पादन पर्दछन् । तर, यिनै मुख्य निर्यात क्षेत्रसँग सम्बन्धित वस्तुगत सङ्घका प्रतिनिधिहरूलाई भ्रमण टोलीमा समावेश नगरिएको घिमिरेको भनाइ छ।

सरकार र विशेष गरी परराष्ट्र मन्त्रालयसँग निकट सम्बन्ध तथा पहुँच भएका विभिन्न क्षेत्रका करिब ५२ जनाको जम्बो प्रतिनिधिमण्डल तयार पारिँदा पनि देशको निर्यात प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्‍याउँदै आएका उद्योगी तथा व्यवसायीलाई नसमेटिनु विडम्बनापूर्ण रहेको उनले उल्लेख गरे।

भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदारमध्ये एक भएकाले प्रधानमन्त्रीको भारत भ्रमणलाई दुई देशबिचको व्यापार विस्तार, नेपाली उत्पादनको बजार पहुँच वृद्धि, गैरभन्सार अवरोध न्यूनीकरण, द्विपक्षीय व्यापार सन्तुलन सुधार तथा नयाँ निर्यात सम्भावना खोज्ने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने घिमिरेले बताए।

‘देशको अर्थतन्त्र, उत्पादन र निर्यात प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्‍याउने निजी क्षेत्रका प्रतिनिधिलाई नै भ्रमण टोलीमा उचित स्थान नदिनुले सरकारको आर्थिक कूटनीति र निर्यात प्रवर्द्धन प्रतिको प्राथमिकतामाथि प्रश्न खडा गरेको छ,’ उनले भने।

प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिक कूटनीतिक भ्रमणमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै घिमिरेले यस्ता भ्रमणमा देशको उत्पादन, उद्योग, लगानी र निर्यात प्रवर्द्धन गर्ने निजी क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु आवश्यक रहेकोमा जोड दिएका छन्।

NECO

Leave Your Comment

Related News