काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले आफ्नो नयाँ स्मार्टफोन **मेट ९० एयर** आगामी नोभेम्बर २४ मा सार्वजनिक गर्ने भएको छ। सार्वजनिक हुनुअघि नै कम्पनीको आधिकारिक अनलाइन स्टोरमा सूचीकृत भएको फोनका केही प्रमुख विशेषतासमेत सार्वजनिक भएका छन्।
गत वर्ष ह्वावेले ६.६ मिलिमिटर मोटाइ भएको मेट ७० एयर सार्वजनिक गरेको थियो। उक्त फोन मेट सिरिजकै सबैभन्दा पातलो तथा हलुका मोडलका रूपमा आएको थियो। यसअघि सार्वजनिक भएको एक रिपोर्टमा कम्पनीले मेट ८० एयर ल्याउने तयारी गरेको उल्लेख थियो। तर पछिल्लो विवरणअनुसार कम्पनीले मेट ८० एयरलाई छाडेर सीधै मेट ९० एयर सार्वजनिक गर्न लागेको देखिएको छ।
ह्वावेको आधिकारिक अनलाइन स्टोरमा उपलब्ध विवरणअनुसार मेट ९० एयर रोज गोल्ड, मुन सिल्भर र अब्सिडियन ब्ल्याक गरी तीन रङमा उपलब्ध हुनेछ।
जीएसएमएरेनाका अनुसार फोनको पछाडिको डिजाइन मेट ९० सिरिजका अन्य स्मार्टफोनसँग मिल्दोजुल्दो हुनेछ। यसको पछाडिपट्टि ठूलो गोलाकार क्यामेरा मोड्युल राखिएको छ। उक्त मोड्युलमा तीनवटा क्यामेरा सेन्सर रहने अनुमान गरिएको छ।
कम्पनीले सार्वजनिक गरेको सूचीकरणअनुसार मेट ९० एयरमा १२ जीबी र्याम उपलब्ध हुनेछ। त्यस्तै, प्रयोगकर्ताले २५६ जीबी र ५१२ जीबी आन्तरिक स्टोरेजमध्ये आफ्नो आवश्यकताअनुसार छनोट गर्न सक्नेछन्।
फोनको प्रोसेसर, ब्याट्री क्षमता, क्यामेराको विस्तृत विवरण तथा मूल्यलगायतका अन्य विशेषता भने सार्वजनिक कार्यक्रममा खुलाइने अपेक्षा गरिएको छ।



