काठमाडौं । कुमारी बैंकले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन–ट्याग बिक्री तथा वितरण सेवा आफ्ना शाखामार्फत उपलब्ध गराएको छ।
एन–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो। सवारीसाधनमा यसको स्टिकर टाँसेपछि टोल बुथमा रोकिनु नपरी स्वचालित रूपमा शुल्क भुक्तानी गर्न सकिन्छ। यसले टोलमा हुने भीडभाड र लामो लाइन घटाउनुका साथै यात्राको समय बचत गर्ने बैंकले जनाएको छ। ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट आकारको फोटो र मोबाइल नम्बर लिएर नजिकैको कुमारी बैंक शाखाबाट एन–ट्याग लिन सक्नेछन्। बैंकको वेबसाइटबाट अनलाइन दर्ता गरेर पनि यो सेवा लिन सकिनेछ।
बैंकका अनुसार एन–ट्यागमार्फत टोल शुल्क नगदरहित र सहज रूपमा भुक्तानी गर्न सकिन्छ। डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै बैंकले सवारीधनीलाई सुरुङमार्ग प्रयोग गर्दा समय बचत गर्न एन–ट्याग जडान गर्न आग्रह गरेको छ।



