काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा युएईले नेपालसामु १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कतारको दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भयो।
युएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए। हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले १–१ विकेट हात पारे।
प्रतियोगितामा नेपाल र युएई दुवै पहिलो जितको खोजीमा छन्। नेपाल पहिलो खेलमा भारत ‘ए’सँग र युएई पाकिस्तान ‘ए’सँग पराजित भएका थिए। आठ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। यस समूहमा भारत ‘ए’ र पाकिस्तान ‘ए’ पनि छन्।



