काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ खर्ब ४८ अर्ब ७१ करोड रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार २० वाणिज्य बैंकको कुल कर्जा प्रवाह गत असार मसान्तको ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँबाट बढेर कात्तिक मसान्तसम्म ५४ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो।
समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १८ वटाको कर्जा प्रवाह बढेको छ भने दुई बैंकको कर्जा घटेको छ। कर्जा विस्तारका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले चार महिनामा ३० अर्ब ७१ करोड रुपैयाँ कर्जा थप गर्दै कुल कर्जा प्रवाह ५ खर्ब ७ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ।
त्यस्तै, नबिल बैंकले १७ अर्ब ५९ करोड रुपैयाँ कर्जा विस्तार गर्दै कुल कर्जा ५ खर्ब ५ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ। यससँगै ग्लोबल आइएमई र नबिल बैंक दुवैले ५ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्।
कर्जा प्रवाहको आकारका आधारमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) तेस्रो स्थानमा रहेको छ। बैंकको कर्जा ६ करोड रुपैयाँले बढेर ३ खर्ब ६० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको कर्जा पनि १ करोड रुपैयाँले बढेर ३ खर्ब ४६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
लक्ष्मी सनराइज बैंकले १५ अर्ब ६८ करोड रुपैयाँ कर्जा विस्तार गर्दै कुल कर्जा ३ खर्ब ३६ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ। कुमारी बैंकले १८ अर्ब ७५ करोड रुपैयाँ कर्जा थप गर्दै ३ खर्ब २१ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ।
यसैगरी, एनएमबी बैंकको कर्जा ६ अर्ब ५९ करोड रुपैयाँले बढेर २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। नेपाल बैंकको ५ अर्ब ९२ करोड रुपैयाँले बढेर २ खर्ब ६७ अर्ब ६५ करोड, हिमालयन बैंकको ७ अर्ब ४ करोड रुपैयाँले बढेर २ खर्ब ६३ अर्ब ६२ करोड र सिद्धार्थ बैंकको १२ अर्ब १४ करोड रुपैयाँले बढेर २ खर्ब ६० अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
एभरेस्ट बैंकले ११ अर्ब रुपैयाँ कर्जा विस्तार गर्दै कुल कर्जा २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ। प्राइम बैंकको कर्जा ६ अर्ब ५० करोड रुपैयाँले बढेर २ खर्ब ५१ अर्ब १६ करोड र कृषि विकास बैंकको ३ अर्ब ४३ करोड रुपैयाँले बढेर २ खर्ब ४९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, सानिमा बैंकको कर्जा ३ अर्ब ६ करोड रुपैयाँले बढेर २ खर्ब ९ अर्ब ६३ करोड, सिटिजन्स बैंकको ६ अर्ब ८० करोड रुपैयाँले बढेर १ खर्ब ८४ अर्ब १३ करोड र माछापुच्छ्रे बैंकको ९ अर्ब २९ करोड रुपैयाँले बढेर १ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
नेपाल एसबीआई बैंकले ३ अर्ब ६२ करोड रुपैयाँ कर्जा थप गर्दै कुल कर्जा १ खर्ब ५६ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ। सबैभन्दा कम कर्जा प्रवाह गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा पनि १ अर्ब ९ करोड रुपैयाँले बढेर ७१ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।
यता, समीक्षा अवधिमा प्रभु बैंक र एनआईसी एसिया बैंकको कर्जा प्रवाह भने घटेको छ। प्रभु बैंकको कर्जा ५ अर्ब ४४ करोड रुपैयाँले घटेर २ खर्ब २६ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, एनआईसी एसिया बैंकको कर्जा ५ अर्ब १३ करोड रुपैयाँले घटेर २ खर्ब ६ अर्ब रुपैयाँ कायम भएको छ।



