काठमाडौं । नेपालको पहिलो केबलकार सेवा मनकामना केबलकारले सञ्चालनको २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन को–इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते २८ वर्षको सफल सञ्चालन पूरा गरेको हो । कम्पनीका अनुसार स्थापना भएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले मनकामना केबलकारमार्फत सेवा लिइसकेका छन् । नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको केबलकारले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा पहलमा स्थापना भएको मनकामना केबलकार नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने परियोजनाका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ । २८ वर्षको यात्रा पूरा गरेको अवसरमा कम्पनीले स्वर्गीय संस्थापकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको दूरदृष्टि र मार्गदर्शनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले लामो समयदेखि सेवा उपयोग गर्दै आएका ग्राहक तथा यात्रुप्रति आभार व्यक्त गरेको छ । साथै, केबलकारलाई यस उचाइसम्म पुर्याउन योगदान गर्ने कर्मचारीहरूको मेहनत, निष्ठा र समर्पणप्रति धन्यवाद दिएको छ ।
पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदारहरू, सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन तथा गोरखा जिल्ला प्रशासन कार्यालय र सम्पूर्ण शुभेच्छुकहरूको साथ र सहयोगप्रति पनि कम्पनीले कृतज्ञता व्यक्त गरेको छ ।
मनकामना केबलकारले धार्मिक पर्यटनसँगै नेपालको पर्यटन तथा यातायात पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । २८ वर्षको सफल सञ्चालनपछि २९औँ वर्षमा प्रवेश गरेको कम्पनीले आगामी दिनमा पनि यात्रुहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै पर्यटन क्षेत्रको विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।



