Global College

नदीको सफाइसहित काठमाडौंलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं । काठमाडौंका नदी, पोखरी र खुला जमिन मासिँदै जाँदा सहरको तापक्रम र बाढीको जोखिम बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमतीलाई पुनः सफा बनाउनेदेखि बाढीको पूर्वसूचना प्रणाली विकास गर्नेसम्मका योजना अघि सारेका छन्।

‘काठमाडौं जलवायु कार्य सप्ताह’लाई सम्बोधन गर्दै श्रेष्ठले नदी संरक्षण, सहरी बाढी नियन्त्रण, भूमिगत पानी पुनर्भरण र वायु प्रदूषण न्यूनीकरणका लागि सङ्घीय सरकारले स्थानीय तहसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्। उनले नदीलाई कङ्क्रिटको पर्खालभित्र थुन्नुभन्दा प्राकृतिक बहाव र स्वरूप कायम राख्ने प्रकृतिमैत्री योजना आवश्यक रहेको बताए।

काठमाडौं क्षेत्र नं। ८ का सांसदसमेत रहेका श्रेष्ठले बाल्यकालमा बागमती र विष्णुमतीको सफा पानीमा नुहाएको, पिएको र नदी किनारका हरिया खेत तथा चराचुरुङ्गीबीच हुर्किएको स्मरण गरे। तर, आफ्नै जीवनकालमा ती नदी प्रदूषित हुँदै गएको र सहरको प्राकृतिक स्वरूप हराउँदै गएको देख्नुपरेको उनको भनाइ थियो।

उनका अनुसार पछिल्ला दशकमा जथाभाबी कङ्क्रिट संरचना निर्माण हुँदा खेत, पोखरी र खुला जमिन मासिएका छन्। वर्षाको पानी जमिनले सोस्ने ठाउँ घट्दा सहरी बाढीको जोखिम बढेको छ भने धुलो, धुवाँ र बढ्दो तापक्रमले सहरको वातावरण तथा ऐतिहासिक सम्पदासमेत प्रभावित भएका छन्।

जलवायु परिवर्तनले यो जोखिम थप बढाएको उल्लेख गर्दै श्रेष्ठले छोटो अवधिमै तीनवटा नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए। काठमाडौंको सहरीकरणबाट अन्य नगरपालिकाले पनि पाठ सिकेर समयमै नदी, पोखरी र खुला क्षेत्र संरक्षण गर्नुपर्ने उनको आग्रह थियो।

बाढी आउनुअघि नै वडा र घरपरिवारलाई सूचना

श्रेष्ठले बाढीको जोखिम घटाउन वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणाली विकास गर्ने योजना सुनाए। जल तथा मौसम विज्ञान विभागमार्फत काठमाडौं महानगरपालिका र अन्य सहरसँग सहकार्य गरी बाढी आउनुअघि नै वडा तथा घरपरिवारसम्म सूचना पुर्‍याउने व्यवस्था मिलाइने उनले बताए।

हिमाली क्षेत्रमा झुन्डिएका हिमचट्टान र पग्लिँदो हिमनदीको निगरानीका लागि विज्ञ, वैज्ञानिक, अभियन्ता र युवालाई जोड्ने योजना पनि अघि सारिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका जोखिमको समयमै पहिचान र सूचना प्रवाह गर्न यस्तो अनुगमन आवश्यक रहेको उनको भनाइ छ।

नदी संरक्षणका लागि जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौं महानगरपालिकासहित नदी प्रणालीसँग जोडिएका आसपासका १७ नगरपालिकासँग समन्वय गर्नेछन्। नदीले प्रशासनिक सीमा नचिन्ने भएकाले एउटा स्थानीय तहमा मात्रै काम गरेर समस्या समाधान नहुने भन्दै उनले आगामी मनसुनअघि नै संयुक्त रूपमा काम सुरु गर्ने प्रतिबद्धता जनाए।

यसअन्तर्गत विष्णुद्वार र वाग्द्वारका मुहान तथा नागार्जुन र गोदावरी क्षेत्रको संरक्षणलाई प्राथमिकता दिइनेछ। नदीलाई कङ्क्रिट संरचनाले साँघुरो बनाउनेभन्दा प्राकृतिक रूपमा फैलिन र खुम्चिन सक्ने अवस्था कायम राख्ने योजना सरकारको रहेको उनले बताए।

आकाशे पानी सङ्कलनदेखि हरित सडकसम्म

काठमाडौंको बढ्दो तापक्रम नियन्त्रण र भूमिगत जलभण्डार पुनर्भरणका लागि घरघरमा आकाशे पानी सङ्कलन गर्ने, पानी जमिनमा सोसिने पैदलमार्ग बनाउने र खुला ठाउँ संरक्षण गर्ने योजना पनि अघि सारिएको छ। मुख्य सडक किनारमा रैथाने प्रजातिका रूख रोप्न महानगरपालिकाले स्थान पहिचान गरेपछि सङ्घीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने श्रेष्ठले बताए।

उनले पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा र राजकुलो पुनर्जीवित गर्न काठमाडौं महानगरपालिकाले गरेको कामको प्रशंसा गरे। यस्ता परम्परागत जलप्रणालीले भूमिगत पानीको स्रोत जोगाउन र सहरको पानी व्यवस्थापनमा सहयोग पुर्‍याउने उनको भनाइ थियो।

वायु प्रदूषण नियन्त्रणका लागि विद्युतीय सार्वजनिक यातायात विस्तार, स्वच्छ इँटाभट्टा प्रवर्द्धन र फोहोर जलाउने कार्य नियन्त्रणमा जोड दिइनेछ। वायु गुणस्तरसम्बन्धी तथ्याङ्क नागरिकका लागि खुला राख्ने र जाडो तथा तुवाँलो सुरु हुनुअघि नै प्रदूषण नियन्त्रणका तयारी पूरा गर्ने योजना पनि उनले प्रस्तुत गरे।

फोहोरबाट ऊर्जा र जलवायु वित्त जुटाउने तयारी

फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोड्ने योजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौं महानगरपालिकाबीच भएको समझदारीअनुसार टेकु बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन पहल गरिने श्रेष्ठले बताए। त्यसका लागि घरबाटै फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।

जलवायु अनुकूलन र विपद्पछिको पुनःस्थापनाका लागि वित्तीय स्रोत जुटाउन ‘जलवायु वित्त शिखर सम्मेलन’ आयोजना गर्ने तथा हरित बन्ड र जलवायु कोष परिचालन गर्न नगर विकास कोषसँग सहकार्य गर्ने योजना पनि उनले सुनाए। भोटेकोशी क्षेत्रको विपद्पछि पुनर्लाभका लागि आवश्यकताअनुसार छिटो परिचालन गर्न सकिने कोषको आवश्यकता महसुस भएको उनको भनाइ थियो।

विपद् व्यवस्थापनमा युवाको प्रविधि र ज्येष्ठ नागरिकको परम्परागत ज्ञान जोड्नुपर्नेमा पनि उनले जोड दिए। कक्षा १२ का विद्यार्थीले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउन सक्ने सञ्चार प्रणाली बनाएको उदाहरण दिँदै श्रेष्ठले स्थानीय स्तरमा विकसित प्रविधिलाई उपयोग गर्नुपर्ने बताए।

जलवायु न्याय र बस्नयोग्य काठमाडौंको परिकल्पना

श्रेष्ठले विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, बाढी र पहिरोको जोखिम बढ्ने तथा त्यसको असर नेपालीले भोग्नुपरेको बताए। जलवायु न्यायको अर्थ नदी किनारका बासिन्दाको सुरक्षा मात्र नभई नदी, मुहान, रूख, चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान संरक्षण पनि भएको उनको भनाइ थियो।

उनले काठमाडौंलाई हरियाली सडक, साइकल लेन, सुरक्षित पैदलमार्ग, सफा नदी र संरक्षित ऐतिहासिक बस्ती भएको सहरका रूपमा विकास गर्ने परिकल्पना प्रस्तुत गरे। १५ मिनेट हिँडेर पुग्न सकिने ऐतिहासिक टोल तथा बहाल, खुला पार्क, सुरक्षित खेलस्थल र हरियालीयुक्त व्यावसायिक क्षेत्र निर्माण गर्नुपर्ने उनको धारणा थियो।

बुवा–आमा पार्कमा ढुक्कले समय बिताउन सक्ने, बालबालिका सुरक्षित रूपमा खेल्न सक्ने र नदी किनारमा स्वच्छ वातावरण कायम हुने काठमाडौं निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए।

NECO

Leave Your Comment

Related News