काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले ठेक्का रद्द गर्नुलाई सहज विकल्पका रूपमा लिने प्रवृत्तिले बहुवर्षीय तथा राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको बताएका छन्। उनले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्नुको कानुनी तथा प्राविधिक आधार स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।
संसद्को सार्वजनिक लेखा समितिको बैठकमा आयोजनाको ठेक्का रद्द गरिएको विषयमा धारणा राख्दै शाहीले ठेक्का प्रक्रिया सुरु भएपछि संशोधन भएका ऐन तथा नियमावलीका आधारमा पुरानो ठेक्का रद्द गर्न मिल्ने वा नमिल्ने विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन्।
उनले दुई, तीन वा पाँच वर्षसम्म सञ्चालन हुने बहुवर्षीय आयोजनाको कार्यान्वयन अवधिमै ऐन तथा नियमावली संशोधन हुन सक्ने भन्दै त्यसकै आधारमा पुरानो ठेक्का रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्नु कति उचित हुन्छ भन्ने प्रश्न उठाए। यस विषयमा सम्बन्धित निकायले तथ्य र तथ्याङ्कसहित जवाफ दिनुपर्ने उनको भनाइ छ।
शाहीले ठेक्का रद्द गर्नुको कारण नियमावली संशोधन मात्रै हो वा सार्वजनिक खरिद ऐनअनुसार टेन्डर प्रक्रियामा कुनै त्रुटि भएको हो भन्ने स्पष्ट पार्नुपर्ने बताए। प्राविधिक रूपमा छनोट भइसकेका कम्पनीको आर्थिक प्रस्तावसमेत नखोली ठेक्का रद्द गरिएको विषयमा उनले प्रश्न उठाए।
ठेक्का रद्द गर्दा राज्यको सार्वजनिक कोषमा पर्ने आर्थिक भार, आयोजनाको लागत वृद्धि, निर्माण अवधि लम्बिने अवस्था तथा निर्माण कम्पनीसँगको सम्झौता भङ्ग भएपछि उत्पन्न हुने आर्थिक दायित्वको समेत मूल्याङ्कन गर्नुपर्ने उनले बताए।
विशेषगरी यसअघि पटेल–रमण जेभीसँग भएको सम्झौता भङ्ग भएपछि क्षतिपूर्ति, आर्थिक दायित्व असुलउपर र बैंक ग्यारेन्टीसम्बन्धी विषयमा स्पष्ट जानकारी आवश्यक रहेको शाहीको भनाइ छ। ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हस्तक्षेप भएको भन्ने विषयसमेत उठेकाले त्यसको वास्तविकता र कारण खुलाउनुपर्ने उनले बताए।
ठेक्का प्रक्रिया सुरु भइसकेपछि संशोधन हुने ऐन तथा नियमावलीले पुरानो ठेक्कालाई कुन हदसम्म प्रभाव पार्छ भन्ने महत्त्वपूर्ण कानुनी प्रश्न रहेको उल्लेख गर्दै शाहीले नियमावली संशोधनकै कारण ठेक्का रद्द गर्ने निर्णयको औचित्य पुष्टि गर्नुपर्नेमा जोड दिए।
उनले ठेक्का रद्द गर्दा हुने प्रत्यक्ष आर्थिक नोक्सानीको मात्रै हिसाब गरेर नपुग्ने बताए। आयोजना निर्माण हुन नसक्दा त्यसको मूल उद्देश्य पूरा नहुने र राज्य तथा जनताले व्यहोर्नुपर्ने समग्र क्षतिको समेत मूल्याङ्कन गर्नुपर्ने उनको धारणा छ।
सार्वजनिक खरिद प्रक्रियामा कुनै त्रुटि वा कानुनी समस्या रहेको भए त्यसलाई स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने भन्दै उनले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्नुको वास्तविक कारणबारे सम्बन्धित निकायसँग जवाफ मागेका छन्।



