काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा जागिर खाएको आरोपमा भोज बाबु सोमै मगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
प्यूठानको सरुमारानी गाउँपालिका–४ निवासी मगरले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ओखलढुङ्गाको रुम्जाटार माध्यमिक विद्यालय र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा जागिर खाएको आरोप लागेको हो ।
अख्तियारका अनुसार मगरले रुम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष करारमा प्राविधिक शिक्षकका रूपमा काम गरेका थिए । त्यसपछि उनले विद्यालय छाडेर खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करारमा सब–इन्जिनियर पदमा काम गरेको उजुरीमा उल्लेख छ ।
अनुसन्धानका क्रममा मगरले रुम्जाटार माध्यमिक विद्यालयमा सहायक प्रशिक्षक र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर पदमा नियुक्ति लिन डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहका झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरेको देखिएको आयोगले जनाएको छ ।
उक्त प्रमाणपत्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने भए पनि नक्कली रहेको अख्तियारको ठहर छ ।
नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको भन्दै आयोगले मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।



