काठमाडौं । कतारको दोहामा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत समूह चरणको अन्तिम तथा निर्णायक खेलमा पाकिस्तान ‘ए’ सँग ९६ रनको फराकिलो हार बेहोरेसँगै नेपाल प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिएको छ। वेस्ट एन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा मंगलबार सम्पन्न खेलमा पाकिस्तान ‘ए’ ले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा मात्र ७२ रनमा अलआउट भयो।
नेपालको ब्याटिङ लाइनअप पाकिस्तानी बलरसामु पूर्ण रूपमा धराशायी बन्यो। नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए भने बसिर अहमदले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। देव खनाल ८ रन, कुशल भुर्तेल र अभिषेक गौतम १–१ रनमा समेटिँदा इशान पाण्डे, लोकेश बम, पवन सर्राफ, रसिद खान, नन्दन यादव र कप्तान सन्दीप लामिछाने शून्य रनमै पभेलियन फर्किए। पाकिस्तान ‘ए’ को जितमा मोहम्मद हसनैन र सुफियान मुकिमले समान ३–३ विकेट लिए भने मोहम्मद इमरानले २ र माज सदाकतले १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो। उसका लागि विकेटकिपर रोहेल नजिरले अविजित ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा हसन नवाजले २८, अहमद दानियालले १६ र हैदर अलीले १५ रनको योगदान दिए। बलिङतर्फ नेपालका रसिद खानले सानदार प्रदर्शन गर्दै ५ विकेट लिए। त्यस्तै अभिषेक गौतमले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलको भागमा १–१ विकेट रह्यो।
यो हारसँगै समूह ‘बी’ मा ३ खेलबाट २ अंक मात्र जोडेको नेपाल तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। उता अपराजित रहँदै ६ अंक जोडेको पाकिस्तान ‘ए’ शीर्ष स्थानमा र ४ अंक जोडेको भारत ‘ए’ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।



