काठमाडौं । सेयर कारोबारलाई थप सहज, छिटो र प्रविधिमैत्री बनाउन नेपाल धितोपत्र बोर्डले ‘अटो–ईडीआईएस’ प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ। हाल दोस्रो बजारमा सेयर बिक्री भएपछि लगानीकर्ताले आफैँ विवरण अद्यावधिक गरेर, सहमत भई टिक लगाएर र आफ्नो खाताबाट सेयर घटाउन अधिकार दिने व्यवस्था छ। तर, सेयर बिक्रीपछि समयमै सेयर हस्तान्तरण हुन नसक्दा लगानीकर्ताले भोग्नुपर्ने क्लोज–आउटको जोखिम घटाउन ‘अटो–ईडीआईएस’ प्रणालीलाई प्रभावकारी विकल्पका रूपमा हेरिएको छ। यो प्रणाली लागू भएपछि बिक्री गरिएका सेयर स्वतः ट्रान्सफर हुने अपेक्षा गरिएको छ। यसका लागि बोर्डले सीडीएससी लाई आवश्यक अध्ययन गरी प्रतिवेदन पेस गर्न केही महिनाअघि निर्देशन दिएको थियो। सो निर्देशनपश्चात् सीडीएससीले अध्ययन प्रतिवेदन नेपाल धितोपत्र बोर्डमा बुझाएको छ।
प्रतिवेदनअनुसार कानुनी र प्रक्रियागत स्पष्टता अनिवार्य देखिएको छ। खासगरी सेयरधनीले आफ्नो सेयर स्वतः सार्ने अधिकार सीडीएससीलाई दिने कि डिपोजिटरी पार्टिसिपेन्ट (डीपी) लाई भन्ने विषय कानुनमै प्रस्ट हुनुपर्ने बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले बताएका छन्। यससँगै हरेक कारोबारमा अनुमति माग्ने कि सेटलमेन्टका लागि एकैपटक स्थायी सहमति लिने भन्ने प्रश्न पनि विचाराधीन छ, जसका लागि पावर अफ अटर्नीको व्यवस्था कसरी मिलाउने भन्ने टुंगो लगाउनुपर्ने हुन्छ।
सीडीएसको प्रस्तावअनुसार टीएमएसमै अटो–ईडीआईएसको विकल्प राखिनेछ र लगानीकर्ताले त्यसमा क्लिक गरी स्वीकृति दिएपछि सेयर स्वतः डेबिट भई सेटलमेन्ट प्रक्रिया अघि बढ्ने व्यवस्था मिलाउन सकिनेछ।
यद्यपि, सबै प्रकारका सेयरमा यो प्रणाली तत्काल पूर्ण रूपमा स्वचालित हुन भने प्राविधिक तथा व्यावहारिक चुनौती रहेको बोर्डको भनाइ छ। कर्पोरेट एक्सनबाट प्राप्त हुने बोनस सेयर, हकप्रद सेयर तथा मर्जरबाट प्राप्त सेयरमा भने अटो–ईडीआईएस लागू गर्न कठिन हुने देखिएको छ। यस्ता सेयरमा लगानीकर्ताले भारित औसत लागत आफैँ गणना गर्नुपर्ने भएकाले सामान्य दोस्रो बजारबाट खरिद गरिएका सेयरमा मात्रै यस्तो व्यवस्था लागू गर्ने विषयमा छलफल भइरहेको छ।
सीडीएससीले बुझाएको प्रतिवेदनमाथि बोर्डले थप अध्ययन गरेपछि निष्कर्ष निकाल्ने नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता न्यौपानेले बताउनुभएको छ।



